प्रमुख समाचार

बाढीको वितण्डा

मेलम्चीमा आएको बाढीमा ज्वालामुखी फुट्दा देखिने लाभाजस्तो लेदो

विष्णु विश्‍वकर्मा |
असार ३, २०७८ बिहिवार १:३८ बजे

बुधबार बेलूकी मेलम्चीमा आएको लेदोसहितको बाढी

मेलम्ची : सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीमा लेदो बगेको छ । जसले स्थानीय बासिन्दालाई थप त्रसित बनाएको छ भने ठुलो जनधनको क्षतिको आशंका गरिएको छ । यद्यपी अहिलेसम्म प्रहरीले बेपत्ता भएकाहरुको एकिन विवरण सार्वजनिक गर्न सकेको छैन । बेपत्ता भएकामध्ये एक बालकको मात्रै शव भेटिएको जनाइएको छ ।

बुधबार बेलूकी पाँच बजेदेखि मेलम्चीमा फेरि बाढी आएको छ । दिउँसो बाढीको सतह घटेपनि बेलूकी आएको बाढीमा भने लेदो मात्रै देखिएको छ । जसले स्थानीय बासिन्दालाई त्रसित बनाएको छ । र, बाढीमा लेदो मात्रै बग्नुले थप आश्चर्यमा पारेको छ । खोलाको किनारासम्म नै लेदो मात्रै देखिनुले बस्ती नै बगाएको हुन सक्ने अनुमान गरिएको छ । 


लेदो मात्रै बगेको बाढीमा कतिपय पशु चौपापा समेत बगेर आइरहेका स्थानीय बासिन्दाले बताएका छन् । बुधबार बेलूकी लेदोसहितको बाढीमा भैंसी बगेर आएका थिए । जो जिवित भएपनि लेदोका कारण किनारा लाग्न सकेनन् । बाढी आएको चौबिस घण्टासम्म पनि घरायसी सामान, पशु चौपाया, मेलम्ची खानेपानी आयोजनाका पाइपलगायतका सामग्री बगेर आउनुले ठूलै जनधनको क्षति भएको मेलम्चीबासीको अनुमान छ । 

बाढीले सबैभन्दा धेरै सिन्धुपाल्चोकको चनौटे र हेलम्बुमा क्षति पुर्याएको छ । तर सञ्चार र सडक सम्पर्क टुटेकाले क्षतिको एकिन विवरण सार्वजनिक भएको छैन । मेलम्चीमा बाढी आउँदा घरमाथिको छतमा फसेका मानिसहरुको नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ ।

बाढीले मेलम्ची बजारबाट विस्थापित भएकाहरु स्थानीय इन्देश्वरी माध्यामिक विद्यालयमा आश्रय लिएर बसिरहेका छन् । 


 


Author

थप समाचार
x