प्रमुख समाचार

एमालेको ठूलो हिस्सा मिलाएर शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने प्रयासमा दाहाल

नेता नेपालको जोड भने पार्टी मिलाउने मै

चन्द्रशेखर अधिकारी |
साउन २, २०७८ शनिबार १८:२३ बजे

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाका सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल यतिबेला एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँगै सहकार्य गरेर नेपाल कम्युनिस्ट पार्टी बनाउन प्रयास गरिरहेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई चरम दक्षिण पंथीको संज्ञा यसअघि नै दिइसकेका छन् । तसर्थ ओली बाहेकका कम्युनिस्ट सहकार्यको खाका अघि बढाएका हुन् । 

त्यही अनुरुप उनले नेता नेपालसँग लगातार छलफल गरिरहेका छन् । उनकोमा अन्य माओवादी नेताहरू डा. बाबुराम भट्टराई, नेत्र विक्रम चन्दलगायतले पनि बैठक गरिरहरेका छन् । यो सबै धार मिलाएर एमालेको पनि अधिक हिस्सा लिएर अघि बढ्ने चाहना दाहालले देखाएका छन् । 


नेपाल निकट एक नेताका अनुसार दाहालले एमाले फुटाउने भन्दा पनि एमालेको ठूलो खेमा लगेर कम्युनिस्ट एकता गर्दै अघि बढ्ने चाहना देखाएका हुन् । उनले ओलीलाई एक्लो पार्दै अन्य कम्युनिस्ट एक भएर आगामी निर्वाचनमा जाने गरी आफू अघि बढेको जानकारी दिएका छन् । दाहालले सार्वजनिक रूपमा नै ओली बाहेक सबै कम्युनिस्ट एक भई अघि बढ्ने बताएका छन् । 

यतिबेला ओलीले नेतृत्व गरेको एमालेका २३ सांसदको समर्थनमा नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री बनिसकेका छन् । उनलाई ति सांसद्ले साउन सात गते विश्वासको मत दिन पनि पर्ने देखिन्छ । अन्यथा सर्वोच्च अदालतको मानहानी गरेको ठहरिनेछ । यही सिलसिलामा नेपाललाई भेट्न दाहाल कोटेश्वर पुगिरहेका छन् । 

शनिबार पनि उनी कोटेश्वर पुगेर नेता नेपालसँग लामै छलफल गरे । त्यहाँ धेरेको अडकल विश्वासको मतको विषयमा थियो तर त्यसमा मत दिन पर्ने स्पष्ट नै छ भन्दै त्यसबाहेकका अन्य सहकार्यमा छलफल भएको एक नेताले बताए । उनले करिब डेढ घण्टा नेपालसँग कोटेश्वरमा छलफल गरेका थिए । 

दुई खेमामा विभक्त एमालेको पूर्ववत कार्यदलका सदस्यहरूबीच सिंहदरबारमा वार्ता भएको केहीबेरमा दाहाल कोटेश्वर पुगेका थिए । यता कार्यदलको बैठक बस्‍ने र उता सत्तारुढ पाँच दलको बैठकमा नेपाल उपस्थित नहुने गरेपछि दाहाल त्यहाँ पुगेका हुन् । यद्यपि नेपालले आफ्ना प्रतिनिधि भने पाँच दलको बैठकमा पठाइरहेका छन् । 

एमालेको शुक्रबार बसेको स्थायी समिति बैठकले असार २७ मा जुटेको १० बुँदे सहमतिलाई अनुमोदन गरेको भए पनि त्यसलाई नेपालले स्वीकार गरेका छैनन् । त्यो १० बुँदे अनुमोदनसँगै एमाले मिलाउन जेठ २ मा गठित कार्यदललाई पनि शुक्रबार बसेको स्थायी समिति बैठकले विघटन गरिदिएको थियो । 

कम्युनिस्ट सहकार्यको अलवा आइतबारदेखि सुरु हुने प्रतिनिधि सभा बैठक, त्यसमा प्रस्तुत हुने सम्भावित रणनीति र देउवा नेतृत्वको सरकारमा नेपाल पक्ष सहभागी हुने विषयमा पनि कुराकानी भएको दाहाल निकट एक नेताले जानकारी दिए । दाहालले यस्तो प्रयास गरिरहदा नेता नेपाल भने एमाले मिलाउन बढी लागिपरेका छन् । सोही कारण नेपाल यतिबेला सत्तामा जान आकांक्षा देखाएका छैनन् ।  

एक प्रकारको राजनीतिक अडान राखेर आफूलाई समकालिन भन्दा माथिल्लो हाइटमा लगिसकेका नेपालले आगामी दिनमा कसरी आफूलाई प्रस्तुत गर्छन् त्यो हेर्न बाँकी छ । यद्यपि असार २८ को सर्वोच्चको परमादेशपछि सत्ताबाट बाहिरिएका एमाले अध्यक्ष ओलीले अब नेता नेपालका लागि पार्टीमा कुनै स्थान नरहेको सार्वजनिक रूपमै बताउँदै आएका छन् । 

एमालेका केही नेताहरू पार्टीलई माया गरेर भन्दा पनि आफ्नो भविष्य हेरेर पार्टी मिलाउने प्रयास गरिरहेका छन् । उनीहरू अधिकले ढुलमुले नीति लिएका छन् । जसले गर्दा उनीहरू अहिले के गर्ने भन्नेमा आफै अन्योलमा छन् । देउवा दलको समर्थनमा भन्दा पनि बहुमत सांसदको समर्थनमा प्रधानमन्त्री भएकाले आफूलाई त्यही अनुरुप अघि बढाउन लागिरहेका छन् ।  
   
पाँच दलीय गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका देउवालाई त्यो पदमा टिकाउन एमाले नेता नेपाल समूह निर्णायक छ। नेपाल पक्षमा रहेकाले पार्टीको ह्विपलाई स्वीकार नगरी भोट दिएमा मात्रै देउवा नेतृत्वको सरकार टिक्छ । केही सांसद विरामी नै परेको वाहानामा अनुपस्थित भए पनि देउवालाई विश्वासको मत पुग्‍ने गठबन्धनको विश्लेषण छ । उनले विश्वासको मत पाएमा डेढ वर्ष ढुक्कले सरकार चलाउनेछन् । नपाए निर्वाचनमा जानुपर्ने आवस्था छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x