प्रमुख समाचार

नेपाल समूहका सांसदको स्पष्टीकरण जवाफ : ओली पार्टी फुटाउने र शासन गर्नेतर्फ नै अग्रसर देखिए

इकागज |
साउन ७, २०७८ बिहीबार १८:११ बजे

काठमाडौँ  – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओली समूहले सोधेको २४ घण्टे स्पष्टीकरण पत्रको जवाफ पठाएको छ । जवाफमा नेपाल समूहले आफूहरुले पार्टी अनुशासन विपरीत कुनै काम कारबाही नगरेको र अध्यक्ष ओली नै पार्टी फुटाएर शासन गर्नेतर्फ अग्रसर भएको उल्लेख गरेको छ ।  

‘अझै पनि जालझेल गर्ने, गलत मनसायले पार्टी सञ्चालन गर्ने ओलीको शैली अझै फेरिएन,’ नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘स्पष्टीकरण सोध्नु पर्ने थिएन । हामीले त गलत कुरा स्वीकार नगरेका त हौँ  नि । हाम्रो कुरालाई सही भनेर अदालतले पुष्टि गर्‍यो । यो राजनीतिक कारण हो । पार्टीको विधि उल्लंघन गरेका होइनौँ ।’ 


ओलीले पार्टी अनुशासन उल्लंघन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई बुधबार स्पष्टीकरण पत्र पठाएका थिए । नेपाल समूहले दिएको जवाफमा ओलीले राजीनामा नदिएर पार्टी र दलको निर्णयबिना नै संविधान पनि मिचेर आफैँ प्रधानमन्त्री बन्न खोजेको आरोपसमेत लगाएका छन् । उनीहरुले संविधान विपरीत कुनै काम नगरेको कुरा जवाफमा उल्लेख गरेका छन् । 

‘सम्मानित सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दा संविधानको धारा ७६ को उपधारा ५ को प्रक्रियामा सहभागी भई मतदान गर्न पाउने प्रतिनिधिसभाका सदस्यहरुको एक विशिष्ट प्रकृतिको अधिकार दिएको थियो । उक्त मतदानलाई लिएर कुनै कारबाही गर्न नमिल्ने भनी प्रतिषेधको आदेश सर्वोच्चले जारी गरको छ। अतः हाम्रो उक्त कार्य संविधान, पार्टी विधान, सर्वोच्चको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल छ’ स्पष्टीकरणको जवाफ दिएको पत्रमा उल्लेख छ ।  सर्वाेच्चको अदालतको निर्णय कार्यान्वयन नगर्ने पार्टी अध्यक्ष जवाफदेही हुनुपर्दैन भन्दै पत्रमा प्रतिप्रश्न गरिएको छ ।   


Author

थप समाचार
x