प्रमुख समाचार

इजरायल जाने कामदारको आवेदन खुल्यो, को-को जान पाउँछन् ?

इकागज |
साउन १२, २०७८ मंगलबार ९:९ बजे

काठमाडौँ- मंगलबारदेखि इजरायल जाने नेपाली कामदारको लागि आवेदन खुलेको छ । इजरायल र नेपाल सरकारको अन्तिम चरणको सम्झौता भएसँगै आजदेखि केयरगीभरमा जान चाहने नेपाली कामदारको आवेदन लिन लागेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

लामो समयदेखि इजरायलले नेपाली कामदारको माग गरेपनि दुवै देशबीच सम्झौता नभएकोले कामदार जान सकेका थिएनन् । अब भने यो बाटो खुला भएको छ । आजदेखि योग्य कामदारको आवेदन लिन सकिने विभागका निर्देशक डम्बरबहादुर सुनुवारले इकागजलाई जानकारी दिए । जान चाहनेले अनलाइनबाट निवेदन सक्नेछन् ।


‘सूचना जारी गरेको २१ दिनपछि परीक्षा सञ्चालन गरिन्छ,’ निर्देशक सुनुवारले भने । योग्यता पुगेका २५ देखि ४५ वर्षसम्मकाले आवेदन सकिने उनले जानकारी दिए ।

इजरायललाई नेपालीका लागि आकर्षक रोजगार गन्तव्य मुलुक मानिन्छ । एक हजार कामदारको माग आएको सुनुवारले बताए । ७० प्रतिशत महिला र ३० पुरुषलाई लैजाने गरी  इजरायलबाट माग आएको उनको भनाइ छ ।

को-को जान पाउँछन् ?
सरकार-सरकार (जीटूजी) मार्फत कामदार इजरायल जान पाउनेछन् । इजरायलमा जाने नेपाली २५ देखि ४५ वर्ष उमेर समूहको हुनुपर्छ । 'प्लस टु' पास गरेर तीन महिनाको 'केयर-गिभर' तालिम लिएकाहरू प्राथमिकतामा पर्नेछन् ।

४.९ फिट र ४५ केजीभन्दा बढी तौल भएका व्यक्ति मात्रै इजरायल जान पाउने छन् । शारीरिक तथा मानसिक रूपमा स्वस्थ, असल चरित्र भएको व्यक्ति मात्र छनोटमा पर्ने बताइएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले अनलाइन आवेदन दिनुपर्नेछ । वैदेशिक रोजगार विभागले सूचना जारी गरी सक्कल कागजातसहित समय तोकेर उपस्थित हुन अनुरोध गर्नेछ ।

विभागले आवेदकको उचाइ र तौल परीक्षण गरी अनलाइनमा प्रविष्ट गर्छ । त्यसपछि मात्रै अंग्रेजी भाषा परीक्षणमा सामेल हुन पाइन्छ । भाषा परीक्षणपछि परीक्षार्थीले प्राप्‍त गरेको अंक अनलाइन प्रोफाइलमा प्रविष्ट हुन्छ ।

छनोट समितिले २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्छ । उक्त नामावली इजरायलको पीआईबीएलाई पठाइ सोको विवरण विभागको वेबसाइटमा राख्‍नुपर्नेछ । विभागले पठाएको सूचीका आधारमा पीआईबीएले अन्तिम उम्मेदवार छनोट गर्छ ।

अन्तिम छनोटमा परेका उम्मेदवारको करारनामामा हस्ताक्षर गरी इजरायलले विभागमा पठाउने छ । विभागले सम्बन्धित व्यक्तिको हस्ताक्षर गराएर श्रमिकलाई इजरायल पठाउनेछ । न्यूनतम मासिक १५ सय डलर (डेढ लाख नेपाली) पारिश्रमिक पाउनेछन् ।

इजरायल वैदेशिक रोजगारीका गन्तव्य मुलुकमध्ये आकर्षक मानिन्छ । सरकारी तहमा कामदार लैजाने सम्झौता भए पनि इजरायल जान पाएका थिएनन् । तीन वर्ष अघि एक सयको हाराहारीमा कामदार गए पनि थप कामदार जान पाएका छैनन् ।


Author

थप समाचार
x