प्रमुख समाचार

चिनियाँ सुपर लिगको झल्को दिने खर्चालु कतारी लिग

इकागज |
साउन १६, २०७८ शनिबार १९:७ बजे

काठमाडौँ- केही दिनअघि कतारी क्लब अल डुहालले टोबी एल्डरवेरेल्डलाई अनुबन्ध गर्‍यो । डुहाल ठूला कतारी क्लबहरुमध्येको एक हो । अनि बेल्जियमका रक्षक एल्डरवेरेल्ड कतार जाने स्थापित खेलाडीहरूमध्येका एक हुन् । डुहालले एल्डरवेरेल्डको स्थान्तरणका लागि करिब एक करोड ३० लाख पाउन्ड खर्च गरेको बताइएको छ । 

एल्डरवेरेल्ड टोटनहमका लागि कयौँ वर्ष महत्वपूर्ण खेलाडी रहे । इंग्लिस प्रिमियर लिगका पछिल्ला ६ सिजनमा उनले आफूलाई उत्कृष्ट रक्षक साावित गरे । त्यसकारण पनि कतारी क्लबले उनका लागि यत्तिको रकम खर्च गर्नु अप्रत्याशित होइन । फेरि विगतमा धनी कतारी क्लबहरूले धेरै पटक महंगा खेलाडी अनुबन्ध गरेका छन् ।  


कतारी क्लबहरूले सरुवा बजारमा जसरी खर्च गरिरहेका छन्, यसले चिनियाँ सुपर लिग (सीएसएल)को झल्को दिन्छ । पछिल्लाे आधा दशक चिनियाँ क्लबहरूको एसियाली सरुवा बजारमा दबदबा रह्यो । एसियाली फुटबलमा नाम चलेका खेलाडीहरू धमाधम सीएसएल पुगे । युरोपका ठूला लिग खेलेका कार्लोस टेभेज, निकोलस एनेल्का, रोबिन्हो लगायतका स्टार चिनियाँ फुटबलको स्वाद चाख्‍न लालयीत भए । अझै पनि ब्रजिलका ओस्कार, हल्क अनि म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर माराउने फेलाइनी त्यही छन् । तर चिनियाँ क्लबहरूले थप स्टार भने खरिद गर्ने इच्छा देखाएका छैनन् । 

यसका केही कारण छन् । लिगलाई अस्थिर हुनबाट जोगाउने भन्दै चिनियाँ फुटबल संघले नयाँ नियम ल्यायो । खेलाडीले पाउने तलबमा सीमा निर्धारण गरियो । अनि क्लबहरू आफैँ पनि आर्थिक समस्यामा पर्न थाले । आर्थिक समस्याले नै गर्दा एसियाली च्याम्पियन्स लिग (एसीएल) जितेको जियागंसु गत सिजनबाट बन्द भयो । 

परिवर्तित नियमका कारण सीएसएलमा विगतको तुलनामा ठूला विदेशी खेलाडी कमै आबद्ध भइरहेका हुन्छन् । उदाहरणका लागि, आठ पटकको सीएसएल च्याम्पियन ग्वान्जाउ एभरग्रान्डेले पछिल्ला सरुवा बजारमा विदेशी खेलाडी अनुबन्ध गरेको छैन । उसँग विदेशमा जन्मेका केही खेलाडी छन् । तर ती सबै चिनियाँ नागरिक बनिसकेका छन् । 

विगतमा साघांइ एसआईपीजीको नामबाट चिनिने साघांइ पोर्टले पनि पछिल्लो समय विदेशी खेलाडीमाथि खासै खर्च गरेको छैन । हाल उसको टिममा प्रिमियर लिग खेलेका ओस्कार, मार्को आर्नौटोभिच र आरोन मोय छन् । तर तीमध्ये पनि आर्नौटोभिच र मोयले चीन छाड्ने हल्ला चलिरहेको छ । 

चिनियाँ क्लबहरूले विदेशी खेलाडीप्रति मरिहत्ते गर्न छाडेपछि ध्यान एसियाको अर्को धनी लिग कतार स्टार्स लिगतर्फ छ । च्याम्पियन अल साडले स्पेनका जाभीलाई प्रशिक्षक बनाएको छ । जो खेलाडीका रुपमा यस क्लबसँग आबद्ध भएका थिए । त्यसअघि त्यहाँ स्पेनकै अर्का लेजेन्ड राउल गोन्जालेज थिए । हुन त जाभी र राउल दुवै ‘फ्रि–एजेन्ट’का रुपमा कतार पुगे । तर उनीहरूको महंगो तलब र अन्य स्टारको स्थान्तरण रकम तिर्न कतारी क्लबहरू आर्थिक रुपमा सक्षम देखिएका छन् । 

उदाहरणका लागि, डुहालले नै जापानी खेलाडी सोया नाकाजिमाका लागि तिरेको तीन करोड ५० लाख युरो । जुन कतारी फुटबल बजारमा सबैभन्दा महंगो स्थान्तरण हो । नाकाजिकमालाई पोर्चुगाली क्लब पोर्टिमोनेन्सेबाट खरिद गरिएको थियो । तर डुहालले नाकाजिमालाई तीन महिना पछि नै बेच्यो, एफसी पोर्टोलाई । त्यो पनि एक करोड २० लाख युरोमा मात्रै ।

डुहालले एल्डेरवेरेल्ड अनुबन्ध गरेको घोषणा गरेको केही दिनअघि मात्रै अल साडले घानाका कप्तान आन्दे्र आयुलाई भित्र्याएको थियो । ३१ वर्ष पुगेका आयु, एल्डेरवेरेल्ड जस्ता ठूला नाम होइनन् । तर उनीसँग लामो समय युरोपका प्रसिद्ध लिग खेलेको अनभव छ । चाहेको भए उनी फ्रान्सको लिग वान पनि फर्कन सक्थे । तर उनी कतारी लिगप्रति आर्कषित भए । 

हुन त विदेशी स्टार भित्र्याउन सक्ने कतारी लिग एक्लो एसियाली लिग होईन । कतारको छिमेकी साउदी अरबले पनि घरेलु लिगमा व्यापक लगानी गरेको छ । त्यहाँका क्लबहरू पनि डुहाल वा अल साड जस्तै सम्बृद्ध छन् । भर्खरै मात्र अल अहलीले टोटनहमकै पूर्व मिडफल्डर पाउलिन्होलाई अनुबन्ध गरेको छ । उनी चीनबाट साउदी पुगेका हुन् । 

साउदीकै अर्को ठूलो क्लब अल नासरले पनि प्रिमियर लिग खेलिसकेका रामिरो फुनेस मोरीलाई भित्र्याएको छ । अल अहली जस्तै एसीएल जित्ने लक्ष्यका साथ अघि बढेको अल नासरले मोरीलाई स्पेनी क्लब भिल्लारियलबाट खरिद गरेको हो । गत सिजन म्यानचेस्टर युनाइटेडविरुद्धको युरोपा लिग फाइनलमा भिल्लारियललाई विजयी बनाएका मोरीका लागि नयाँ चुनौती, एसियाली च्याम्पियन बन्नु हो । 

खाडीका यी दुई लिग मात्रै होइन, पूर्वी एसियाको जापानमा पनि केही स्थापित नामहरूले खेलिरहेका छन् । बार्सिलोनाका पूर्व प्लेमेकर आन्दे्रस इनिएस्टा भिसेलकोबेमै छन् । स्पेनकै डेभिड भिल्ला र फर्नान्डो टोरेस पनि केही वर्ष जापानी लिगमा रहे । चीन वा खाडीका दुई ठूला लिगको जस्तो ठूलो स्थान्तरण रकम तिर्न नसके पनि जापानी क्लबहरूप्रति आर्कषण घटेको छैन । 

यतिबेला एसियाली फुटबल रोचक बनिरहेको छ । एसीएलमा मात्रै सीमित रहेका स्टारहरू अब अन्य लिगको पनि अनुभव गर्न चाहिरहेका छन् । यसले एसियाली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता एसीएललाई थप प्रतिस्पर्धात्मक बनाइरहेको छ । अनि एसीएललाई झनै प्रतिस्पर्धात्मक बनाउन सबैभन्दा ठूलो योगदान, कतारी लिगले नै गर्ने देखिएको छ ।  

अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सहयोगमा 


Author

थप समाचार
x