प्रमुख समाचार

लुम्बिनी सरकारले अध्यादेशबाट ल्याइएको बजेट हेरफेर गर्ने

इकागज |
भदौ ८, २०७८ मंगलबार १६:६ बजे

बुटवल - लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले लुम्बिनी प्रदेशको विकास र समृद्धिको लागि सरकारले न्यूनतम साझा कार्यक्रम ल्याउन लागेको बताएका छन् । मन्त्री खड्काले निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट परिमार्जन गरेर नयाँ बजेट बनाउन आफूहरू लागि परेको बताए ।

सोमबार बुटवलमा आयोजित कार्यक्रममा लुम्बिनी सरकारका प्रवक्ता तथा मन्त्री खड्काले आफूहरूको मुख्य प्राथमिकता कोभिड-१९ रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, ‘मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुर्‍याओस् भन्ने उद्देश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो ।’


मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरू सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोभिड महामारीले बेरोजगार बस्‍न बाध्य भएका नागरिकहरूलाई रोजगारीका अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरूलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने उनले बताए । 

उनले सहकार्य, सहमतिबाट बजेट ल्याऊँ भन्दाभन्दै पनि निवर्तमान सरकारले बलजफ्ती गरी अध्यादेश ल्याएको बताउँदै अध्यादेशबाट आएका र अलपत्र छाडिएका दुई विधेयक फिर्ता ल्याएको बताए । अघिल्लो सरकारले संघियता कार्यान्वयन गर्न नसकेको आरोप लगाउँदै उनले आफूहरूले आवश्यक नीति नियम बनाएर अगाडी बढ्ने बताए । 

संघीय सरकारका आयोजनालाई निरन्तरता दिँदै कामलाई चुस्त, दुरुस्त, पारदर्शिता र सुशासनमा जोड दिने उनले बताए ।


Author

थप समाचार
x