प्रमुख समाचार

विराटनगरका ठूला अस्पतालमा बिचौलियाको बिगबिगी

बाबुराम भण्डारी |
भदौ ९, २०७८ बुधबार १८:४९ बजे

विराटनगर - विराटनगरका ठुला अस्पतालहरूमा उपचार गर्न पुग्ने बिरामी र उनीहरूका आफन्तलाई फकाएर अर्को अस्पतालमा पुर्‍याउने बिचौलियाको बिगबिगी बढेको छ । बिचौलियाले विभिन्न बहाना र प्रलोभनमा पारेर बिरामी र उनीहरूका कुरुवा आफन्तमाथि ठगी हुन थालेपछि सादा पोषाकका प्रहरीमार्फत बुधबारमात्रै १० जनालाई पक्राउ परेका छन् ।

अस्पतालको गेटसम्म नपुग्दै बिचौलियाहरूले अस्पतालको सेवा सुविधा राम्रो नभएको, कोरोना फैलिएको लगायतका त्रास देखाएर अर्को अस्पतालमा लैजान प्रयास गर्ने गरेका छन् । उनीहरूले आफ्नो सम्पर्कमा रहेका अस्पताल वा क्लिनिकमा बिरामी पुर्‍याउने गरेका हुन् ।


पहाडी जिल्ला र प्रदेश २ का जिल्लाबाट उपचारका लागि आएका बिरामीहरूलाई आफू अनुकुलका अस्पताल पुर्‍याएको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका–८ अमरटोल का १८ वर्षीय प्रधुम्न राय  र २३ वर्षीय आनन्दकुमार साहलाई भदौ २ मा पक्राउ गरेको थियो । बिचौलियाको संजाल नै सक्रिय रहेको भन्दै प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्ने क्रममा बुधबारमात्रै थप १० जनालाई नियन्त्रणमा लिएको छ ।

प्रदेश १ कै मुख्य सरकारी अस्पताल कोसी र निजी अस्पताल नोबेल मेडिकल कलेजमा उपचारका लागि गएका बिरामी र उनीहरूका आफन्तलाई ‘यहाँ डक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार औषधी राम्रो छैन’ भन्दै अफवाह फैलाएर अर्को अस्पतालमा पुर्‍याएको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले बताए । 

पक्राउ पर्नेमा सुनसरीको दुहवी–६ का ५४ श्रीराम चौधरी, सिरहाका २० वर्षीय सुर्य नारायण यादव, मोरङको कटहरी–३ का ४२ वर्षीय मो. जलिद, विराटनगर–७ का १८ वर्षीय विश्वास मण्डल, विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, विराटनगर–४ का १९ वर्षीय सुजित यादव रहेको उनले जानकारी दिए । त्यसैगरी विराटनगर–५ का २२ वर्षीय फिरोज रोय, २१ वर्षीय समिर खान, १८ वर्षीय सरोज खान र विराटनगर–३ का १८ वर्षीय अमित यादव पक्राउ परेको प्रवक्ता श्रेष्ठले बताए ।

बिचौलियाहरूले भर्ना भएका बिरामीहरूलाई आवश्यक औषधीसमेत आफैँ मिलाइदिने भन्दै फार्मेसीसँग सेटिङ गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिचौलियाहरूबाट ठगिएकाहरूलाई सम्पर्क आउन समेत आग्रह गरेको छ ।

टोकनमा पनि बिचौलिया हाबी

यता कोसी अस्पतालले उपचारका लागि आउनेहरूका लागि सहजताका लागि सुरु गरेको टोकन प्रणालीमा पनि बिचौलिया हाबी भएको खुलेको छ । अस्पताल बाहिर रहेका फार्मेसीहरूले खटाएका बिचौलियाले विहानैदेखि अस्पतालको टोकन लिने लाइनमा लागेर टोकन नियन्त्रणमा लिने र उपचारका लागि पुग्ने व्यक्तिहरूलाई टोकन दिएर आफ्नो फार्मेसीबाट औषधी लिन दवाव दिने गरेका हुन् ।

कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बिचौलियाहरूले बिहानै टोकन लिएर बिरामीलाई ठग्ने गरेको बताए । पूर्जाको लागि लाइन लागेका व्यक्तिहरूलाई टोकन दिएर आफ्नो फार्मेसीमा औषधि किन्न दवाव दिने गरेको पाइएको मेसु दासले बताए । उनले टोकनमै बिचौलिया प्रवेश गरेपछि हाललाई टोकन प्रणाली नै बन्द गरेको जानकारी दिए । 

 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x