प्रमुख समाचार

विवेकशील-साझा एकता

त्यो एकता, यो एकता  : के फरक, के उस्तै

आकाश क्षेत्री |
मंसिर २४, २०७७ बुधबार १९:१५ बजे

काठमाडौँ : एकता, फुट र फेरि एकता ब्यहोर्‍यो, विवेकशील-साझाले । त्यो र यो समयको परिस्थिति अलग होला, तर दृष्यहरू फरक छैनन् । २०७४ साउन ११ मा नयाँ बानेश्‍वरस्थित एक होटलको तल्लो तलाको हलमा विवेकशील-साझाले पहिलो पटक एकता गरे । त्यसको १७ महिनापछि विवेकशील र साझा दुई चिरामा छुट्टियो ।

साझाबाट छुट्टिँदै गर्दा विवेकशीलका तत्कालीन संयोजक उज्ज्वल थापाले पार्टी नेतृत्वबाट निषेधको राजनीति भएको आरोप लगाए । त्यस्तै, पार्टी फुटेपछि तत्कालीन विवेकशीलका नेता मिलन पाण्डेले साझाका संयोजक रविन्द्र मिश्रमाथि ‘पार्टी परम्परागत राजनीतिक धारमा गएको र यस्तो तरिकाले सुसंस्कृत राजनीति हुन नसक्ने’ आरोप लगाएका थिए । 


चिरा परेको करिब दुई वर्षपछि विवेकशील-साझाको फेरि एक भएका छन् । पार्टीको नाम फेरि ‘विवेकशील साझा पार्टी’ राखिएको छ । यस पटकको एकता कार्यक्रम (जुम)को शुभारम्भ रञ्जु दर्शनाले गरिन् । तर, त्योबेला भएको एकता कार्यक्रममा उनी उपस्थित थिइनन् । एकताबाट सन्तुष्ट नभएका कारण उनी उक्त कार्यक्रममा सहभागी नभएको चर्चा विवेकशील-साझा वृत्तमा चार्चा चलेको थियो ।

विवेकशील साझाका संयोजक मिलन पाण्डेले दुबै पार्टीहरू समान हैसियतमा एकता भएको घोषणा गरेका छन् । तीन वर्षअघि समान हैसियतमा एकीकरण हुँदा दुबै पार्टीको नेतृत्वकर्ताले पनि समान पद प्रप्त गरेका थिए । तत्कालीन साझाबाट मिश्र र विवेकशीलका तर्फबाट उज्ज्वल थापा संयोजक भएका थिए । यसपटक मिश्र अध्यक्ष र पाण्डे संयोजक बने । त्यो बेला विवेकशील साझाको संयोजक रहेका थापा यसपालिको एकतामा भने गुमनाम छन् ।
  
त्यो बेला पार्टी एकीकरण घोषणासभामै थापा र मिश्रले एक-अर्कालाई पार्टीको नेतृत्व गर्न सुझाव दिएका थिए । तर, यो बेला पार्टी नेतृत्वको पदकै कारण पार्टी एकता ५-६ महिना रोकियो । पछिल्लो समय पाण्डे संयोजक र मिश्र अध्यक्ष बन्‍ने सहमति भएपछि यो एकता सम्भव भएको हो ।

विवेकशील साझाले त्यो एकीकरणका बेला आफूलाई वैकल्पिक राजनीतिक दल भनी चिनाएको थियो । तर, यो एकीकरण समारोहमा त्यो वैकल्पिकसँग ‘निर्विकल्प’ थपिएको छ । पार्टी अध्यक्ष मिश्र र संयोजक पाण्डेले आफ्नो पार्टीलाई निर्विकल्पको रुपमा चिनाए ।

त्यो बेला एकीकृत पार्टी विवेकशील साझाको स्पष्ट ‘आइडियोलोजी’ थिएन । एकीकृत पार्टीको त्यो घोषणा कार्यक्रममा बोल्दै तत्कालीन संयोजक थापाले आफ्नो दलले ‘फरवार्ड पोलिटिक्स’ गर्ने बताएका छन् । अर्कोतर्फ पार्टीका अर्का संयोजक मिश्रले भने आफूहरू ‘सेन्टर लेफ्ट’ राजनीति गर्ने प्रष्ट पारेका थिए ।

तर, यो एकीकरणमा पार्टीका अध्यक्ष तथा संयोजकले आफूहरू राजनीतिक विचारमा प्रष्ट रहेको दाबी गरे । मिश्र र पाण्डे दुबैले विवेकशील साझामा आवद्ध सबैले ‘कल्याणकारी लोकतन्त्र’को पक्षमा राजनीति गर्ने बताएका छन् । दुवैले वादको राजनीति नगर्नेसमेत बताएका छन् । कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले भने, ‘विचारविनाको राजनीति कसरी हुन सक्छ भन्ने ठूलो जमात छ । तर ‘डेलिभरी’ बिनाको वादको केही अर्थ छैन ।’
 
दुबै पार्टीबीच भएको त्यो एकीकरणका बेला समृध्दिको नारा आगाडि ल्याइयो । ‘हाम्रै कालमा नेपालमा समृध्दिको ढोका खोल्नुपर्छ’ भन्‍ने त्यो बेलाको नारा थियो । तर, त्यो नारा एकीकरणमा अलि बदलिएको देखियो । यो एकीकरण समारोह (जुम)मा पार्टी अध्यक्ष मिश्र र संयोजक पाण्डेले ‘समृध्दि’ शब्दलाई छुट्टै प्रयोग गरेनन् ।

संयोजक पाण्डेले शिक्षा र स्वास्थ्यलाई बढी जोड दिएको देखियो । उनले आफ्नो मन्तब्यमा यो दुई शब्द पटक-पटक प्रयोग गरे भने ‘समृध्दि’ भन्ने शब्द एक पटक मात्र प्रयोग गरे, त्यो पनि अन्य शब्दसँग संयुक्त रुपमा ।
त्यस्तै अध्यक्ष मिश्रले ‘समृध्दि’ भन्‍ने शब्द दुई-तीन पटक प्रयोग गरे, त्यो पनि अन्य शब्दसँग संयुक्त रुपमा । जस्तै ‘शिक्षा, स्वास्थ्य, समृध्दि, सुशासनको एजेण्डामा हामी अगाडि बढेका छौँ ।’
 


Author

आकाश क्षेत्री

संसदीय मामिलाको रिपोर्टिङ गर्ने क्षेत्री राजनीतिक संवाददाता हुन्।


थप समाचार
x