प्रमुख समाचार

बनेकाे पाँच वर्षसम्म सञ्‍चालनमा आएन रतुवा खोलाकाे पुल

लीलावल्लभ घिमिरे |
मंसिर २८, २०७७ आइतबार १६:२४ बजे

विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा पर्ने रतुवा खोलामा बनेको पक्की पुल निर्माण सम्पन्‍न भएको पाँच वर्ष बितिसक्दा पनि सञ्‍चालनमा आउन सकेको छैन् । हुलाकी राजमार्गअन्तरगत झापा र मोरङ जोड्ने पुलमुनि बाँसको अस्थायी पुल छ । त्यही बाँसको पुलमा पैसा तिरेर सर्वसाधारण खोला तर्छन् । 

पाँच वर्षपहिले १० करोड ४१ लाख ९४ हजार रुपैयाँ लागतमा ९ वटा पिलर भएको २ सय ५ मिटर लामो पुल बनेको भए पनि सर्वसाधारण भने अहिले पनि बाँसको अस्थायी पुलमा पैसा तिरेर तर्न बाध्य छन् । निर्माण सम्पन्‍न भएको पुलमा आवतजावत गर्न मिल्दैन । खोलाको बीचमा पुल भएका कारण आवतजावत गर्न नमिलेकाे हाे । व्यवस्थित तट्बन्धन नहुँदा पुल सञ्‍चालनमा आउन सकेको छैन । खोलाको दुवैति। बगर छ ।


बर्खामा पानीको सतह बढ्दा स्थानीयले डुंगा प्रयोग गरेर आउजाउ गर्नुपर्छ । हुलाकी राजमार्गमा पर्ने यो पुल २०६५ साउन १ गतेदेखि औपचारिक शिलान्यास भएको थपयाे । पुलको निर्माण कार्य २०७२ साल जेठमा सकिएको थियो । 

पुलले झापा र मोरङ जिल्लालाई जोड्छ । पूर्वतर्फ प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र पर्छ भने पश्‍चिममा कांग्रेस नेता एवंम मोरङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र पर्छ । 

दशकदेखि चुनावी नारामा सीमित रहेको रतुवा खोला तट्बन्धन निर्माण र पुल सञ्‍चालन गराउन पछिल्लो समय सासंद डा रिजाल सक्रिय भएका छन्  । उनले भौतिक पूर्वाधार मन्त्रीदेखि प्रधानमन्त्री ओलीलाई समेत जानकारी गराए । फलस्वरूप शनिबार राति ८ बजे भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्बाहाङले पुलको निरीक्षण गरे । 

दक्षिणी मोरङ र झापाको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग तीव्र गतिमा विस्तार भइरहेको छ । तर बनेको पुलसमेत प्रयोगमा आउन सकेको छैन् । रतुवामाई नगरपालिका-३ का वडाध्यक्ष बुलनदेव सिंहले भने, ‘चौकीघाट र पश्‍चिमतर्फ गरी दुवैतिरबाट बोल्डर तारजालीले तट्बन्धन गरेर पुल सञ्‍चालनमा ल्याउन सके मात्र हुलाकी राजमार्ग विस्तारको अर्थ हुन्छ ।’ खोलाले बर्सेेनि धार परिवर्तन गर्छ । जति ठूलो पुल बनाए पनि तट्बन्धन नगरी सञ्‍चालनमा ल्याउन सक्ने अवस्था नभएकाे स्थानीय बताउँछन् । 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x