प्रमुख समाचार

जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प

सुभाष कर्ण |
असोज ६, २०७८ बुधबार १९:२० बजे

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक कारोबार तीन महिनादेखि ठप्प रहेको छ । उपमहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प भएको हो । वडाध्यक्षहरूले मेयर लालकिशोर साहले पछिल्लो परिषद्को फाइल क्लोज नगरेकाले अहिलेसम्म नयाँ खाता सञ्चालन हुन नसक्दा आर्थिक कारोबार ठप्प हुन गएको आरोप लगाएका छन् ।

वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले पछिल्लो परिषदको निर्णयसहितको फाइल क्लोज गरेर नेटमा हाल्न नसकेको कारण नयाँ खाता हुन नसकेको बताए । 


‘परिषद्को निर्णयसहितको फाइल परिषद् सम्पन्न भएको १५ दिनभित्रै गर्नुपर्ने कानूनी प्रावधान छ तर मेयर साहले आफ्नो योजनाहरू हालसम्म छनौट गर्न नसकेको कारण फाइल क्लोज गरेका छैनन् । नयाँ खाता सञ्चालन हुन नसक्दा उपमहानगपालिका र वडाका आर्थिक कारोबार गत तीन महिनादेखि ठप्प छन्,’ उनले भने । यस्तै वडा नम्बर १० का अध्यक्ष मिथिलेश कर्णले मेयर साह र उपमेयर रीता मिश्रले आफ्ना योजनाहरू रकमसहित छनौट गर्न नसकेका कारण फाइल क्लोज गर्नमा ढिलाइ भइरहेको बताए । 

वडा नम्बर ४ का अध्यक्ष सुदर्शन सिंहले पनि मेयर साहकै कारण आर्थिक कारोबार ठप्प रहेको आरोप लगाए । ‘पछिल्लो परिषद्को फाइल क्लोज गरेर नेटमा हाल्ने र त्यहाँबाट स्वीकृतिपश्चात खाता खोल्ने प्रावधान छ तर सो प्रक्रिया पुरा गर्न नसक्दा खाता सञ्चालनमा ढिलाइ भएको हो,’ उनले भने ।

प्रमुख प्रशासकीय अधिकृत विनोद खड्का र मेयर साहबीचको मतान्तरले गर्दा फाइल क्लोज हुन नसकेको उपमहानगरपालिकाका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा इकागजसँग भने ।

‘योजना छनौटमा नपरेका करारमा कर्मचारी भर्ना, मर्मत सम्भारका लागि रहेका गाडी बनाउने, विभिन्न योजनामा रकम निर्धारणको विषयमा प्रमुख प्रशासकीय अधिकृतले असहमति जनाएका कारण मेयर साहले १५ दिनमा क्लोज गर्नुपर्ने फाइल हालसम्म क्लोज गर्नुभएको छैन,’ उनले भने ।

नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूले तीन महिनादेखि तलब लिन पाएका छैनन् भने औषधि तथा शैक्षिक सामग्रीलगायत उपमहानगर तथा वडा कार्यालयका अन्य आर्थिक कारोबार ठप्प रहेको छ । 

उपमहानगरपालिकाका लेखा अधिकृत नन्दकुमार झाले उपहानगरपालिकाको नयाँ खाता सञ्चालन हुन नसक्दा कर्मचारीहरूको तीन महिनाको तलब बाँकी रहेको र औषधि तथा शैक्षिक सामग्री खरिदलगायतका कुनै पनि आर्थिक कारोबार अघि बढन नसकेको बताए ।

‘अहिलेसम्म खाता सञ्चालन हुन नसके पनि दसैं तिहारनजिक कात्तिक महिनामा कर्मचारीहरूलाई तलब भत्तालगायतका भुक्तानीका लागि जसरी पनि खोल्नैपर्छ,’ उनले भने । खाता नखुल्नुको स्पष्ट कारणचाहिँ उनले बताउन चाहेनन् ।

‘हाम्रो पालिकाका मात्रै होइन देशका अधिकांश पालिकाको खाता सञ्चालन हुन सकेको छैन,’ मेयर साहले भने, 'नयाँ खाता सञ्चालनमा प्रत्येक वर्ष असोज कात्तिकसम्मको समय लाग्छ, प्रक्रियामा छ चाँडै नै खुल्नेछ ।’


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x