प्रमुख समाचार

१५ गतेसम्म सम्झौता नगर्ने इन्टरनेट सेवा प्रदायकको तार काटिने

इकागज |
असोज ७, २०७८ बिहीबार १२:१४ बजे

काठमाडौँ- नेपाल विद्युत प्राधिकरण र इन्टरनेट सेवा प्रदायकको विवाद उत्कर्षमा पुगेको छ । प्राधिकरणले असोज १५ गतेसम्म सम्झौता नगर्ने सेवाप्रदायकहरूको अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउने भन्दै सूचना जारी गरेको छ। 

आज एक सूचना जारी गर्दै प्राधिकरणले १५ गतेसम्म नयाँ भाडादर अनुसार सम्झौता गर्न अनुरोध गरेको छ । साथै नवीकरण गर्न एवं बाँकी रहेको बक्यौता रकम भुक्तानी तुरून्त गर्न सूचनामार्फत अनुरोध गरेको छ ।


विद्युत प्राधिकरणको सूचनामा भनिएको छ, ‘नेपाल विद्युत प्राधिकरणको विद्युतीय संरचनाहरू प्रयोग गरी तथा अप्टिकल फाइबर भाडामा लिएर टेलिफोन/इन्टरनेट/केवल टिभी सेवा सञ्चालन गर्ने सेवाप्रदायकहरू मध्ये केहीले नियमानुसार सम्झौता नगरी विद्युत संरचना प्रयोग गरिरहेको, केही सेवा प्रदायकहरूले विद्युत प्राधिकरणबाट माग भए अनुसारको जीपीएस कोअर्डिनेट नक्सा तथा दुरी खुल्ने कागजात समेत पेस नगरी नयाँ सम्झौता नगरेको तथा केही सेवा प्रदायकहरूले परिमार्जित भाडादर भुक्तानी नगरेकोले मिति २०७८ असोज १५ गतेभित्र नियमानुसार सम्झौता गर्न, नवीकरण गर्न तथा हालसम्मको बाँकी बक्यौता रहेको भाडा रकम भुक्तानी गर्नुहुन पुनः सूचना प्रकाशित गरिएको छ ।’  ‘नयाँ सम्झौता नभएसम्म  नयाँ लाइन विस्तारको कार्य नगर्नु/नगराउनु हुन यसअघि नै पटक पटक सूचित गरिसकिएको छ ।’

आगामी असोज १५ भित्र नियमानुसार सम्झौता नगर्ने सेवाप्रदायकहरूको विद्युत प्राधिकरणको विद्युतीय संरचनामा जडान भएका अप्टिकल फाइबर तथा अन्य उपकरण जुनसुकै बेला हटाउन सकिने र यसबाट निस्कने परिणामको जिम्मेवार सम्बन्धित सेवाप्रदायक संस्था नै हुने प्राधिकरणले चेतावनी दिएको छ । 


Author

थप समाचार
x