प्रमुख समाचार

पार्टीमा छलछाम हुँदा लोकतन्त्रमा जोखिम उत्पन्‍न भयो : रामचन्द्र पौडेल

इकागज |
मंसिर १२, २०७८ आइतबार १५:१६ बजे

काठमाडौँ -  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी महाधिवेशनमा नेतृत्व चयनको मात्र विषय नभई विचार र नीतिबारे बहस गर्नुपर्ने बताएका छ्न् । आज आइतबार कांग्रेसको अबको बाटो (रुपान्तरणका दस सूत्र) सार्वजनिक गर्दै नेता पौडेलले महाधिवेशनमा नीति र कार्यक्रमबारे चर्चा हुनुपर्ने बताएका हुन् ।  

महामन्त्री डा. शशांक कोइराला, पूर्व सहमहामन्त्रीद्वय डा. रामशरण महत र अर्जुननरसिंह केसी, नेताहरू दीलबहादुर घर्ती, कमला पन्त र प्रकाश स्नेहीलगायतको उपस्थितिमा उनले कांग्रेसको अबको बाटो (रुपान्तरणका दस सूत्र) सार्वजनिक गरेका हुन् । 
 
नेता पौडेलले महाधिवेशनमा नीति र कार्यक्रमबारे चर्चा समेत नहुने परिस्थिति देखेर आफूले महाधिवेशनको बन्दसत्रमा यो अवसर नपाउने अवस्था भए पनि विचारको छ्लफल र मन्थन भैरहोस् भनेर आफूले पहल गरेको बताए । उनले आफूले जीवनभर लोकतन्त्रका लागि संघर्ष गर्दै आएको बताउँदै अहिलेसम्म लोकतन्त्र संस्थागत हुन नसक्नु दु:खद भएको बताए । 
उक्त कार्यक्रममा वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र डा.शेखर कोइरालालाई पनि आमन्तत्रण गरेको बताइएको छ । तर, उनीहरू पौडेलको कार्यक्रममा उपस्थित छैनन् ।  पार्टीमा परिवर्तनका लागि देशभरका नेता कार्यकर्ताले भूमिका खेल्ने बेला आएको उनको भनाइ छ ।  


नेता पौडेलले फूटबाट पार्टीमा परिवर्तन नहुने पनि बताए ।  कृयाशील सदस्यता वितरणदेखि नै छ्लछाम हुँदा पार्टीमा आन्तरिक लोकतन्त्रमा जोखिम उत्पन्न भएको उनी बताउँछन् । उनले यस्ता हस्तक्षेपकारी प्रवृत्तिले लोकतन्त्रमा खतरा उत्पन्न भएको र आफ्नो एकमात्र लडाइँ लोकतन्त्रको रक्षा रहेको पनि बताए । 

नेता पौडेलले सर्वोच्च अदालतको विवादबारे पनि सबै स्पष्ट हुनुपर्ने बताए । 'अदालतमाथी आज प्रश्न उठेका छन् । दलहरूको लोकतान्त्रिकरणमा प्रश्न उठेको छ,'  उनले भने 'हामी लोकतान्त्रिक हौं भने कानुनको आत्मा कार्ल मार्क्सले भनेजस्तो सम्पत्ति नभएर न्याय हो भनेर हामीले प्रमाणीत गर्नुपर्छ ।' 

उनले थपे, 'अदालतमा सेटिङको प्रश्न उठ्नु, संवैधानिक निकायको कार्यको निष्पक्षता स्थापीत गर्नु र जनताको पक्षमा काम गरेर मात्र नेतृत्वमा आउने प्रणाली विकास गर्नुपर्छ ।'


Author

थप समाचार
x