प्रमुख समाचार

अविश्‍वास प्रस्तावको सदनमै सामना गर्छु : मुख्यमन्त्री राई

लीलावल्लभ घिमिरे |
पुस १२, २०७७ आइतबार १७:५७ बजे

विराटनगर : आफूविरुध्द दर्ता भएको अविश्‍वास प्रस्ताव सदनमै डटेर सामना गर्ने अडान प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले व्यक्त गरेका छन् । उनीविरुध्द आइतबार अविश्वास प्रस्ताव दर्ता भएपछि उनले भने, ‘अत्यधिक बहुमतले यो प्रस्ताव फेल बनाउनेछु ।’

उनले केन्द्रमा प्रधानमन्त्रीलाई घेराबन्दी गरिएको क्रियाकलाप गलत भएको उल्लेख गर्दै भने, ‘यो प्रस्ताव पनि सुनियोजित बनीबनाउँ, खास ठाउँबाट निर्देशित हुँदै प्रदेश कमजोर बनाउँदै अस्थिरता र अराजकता निम्त्याउन आएको हो । त्यसले प्रतिगामीहरूलाई सहयोग पुगेको छ ।’


भर्खर संस्थागत हुँदै प्रदेश संरचना तहसनहस पार्ने कसैको उद्देश्य पूरा हुन नदिने मुख्यमन्त्री राईको भनाइ छ । उनले भने, ‘उहाँहरूले दलमा अविश्‍वास नल्याई सिँधै प्रदेशसभामा जानु भएको छ । छिनोफानो पनि प्रदेश सभाकै बैठकमा बहुमत सदस्य पुर्‍याएर गर्नेछु ।’

अविश्वास प्रस्तावभन्दा अगावै एक मन्त्रीलाई बर्खास्त गरिएको थियो । प्रदेश-१ मा प्रस्तावसँगै तीन मन्त्रीको पनि राजीनामा आइसकेको छ । राईले भने, ‘मन्त्रीको झण्डा र गाडी प्रयोग गरेर न्यूनतम पनि नैतिकता नदेखाइ मुख्यमन्त्रीविरुध्द लागेपछि बर्खास्त गरेको हुँ ।’ 

नेकपा विभाजनसँगै प्रतिपक्षी कांग्रेसको सहयोग बेगर सरकार बन्‍न सक्ने अवस्था छैन । त्यसबारे मुख्यमन्त्री राई भन्छन्, ‘कांग्रेसले बाहिरबाट समर्थन गर्छु भन्ने नीति लिन सक्छ वा सरकारमा सामेल हुने नीति पनि लिन सक्छ । कांग्रेससँग छलफल हुन्छ ।’
 


Author

लीलावल्लभ घिमिरे

घिमिरे इकागजका प्रदेश १ प्रतिनिधि हुन् ।


थप समाचार
x