प्रमुख समाचार

उद्योगीलाई प्रधानमन्त्री देउवाले भने : नेपालमै मल कारखाना खोलौँ

इकागज |
माघ ११, २०७८ मंगलबार १७:४३ बजे

फाइल तस्बिर

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरूलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरूसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन् । 

उनले उद्योगी, व्यवसायीहरूले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरूलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे ।


‘अफगानिस्तानमा अत्यन्तै खाद्य संकट छ । त्यसमा यूएनएसमेतले अफगानीहरू भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद,' उनले भने, 'हामी प्राइभेट एयरलाइन्स मात्रै होइन, उद्योगधन्दाहरू जुनसुकैका पनि सरकार सहयोग गर्न चाहन्छ ।'

कोभिडले देशलाई हैरान पारेको देउवाको भनाइ छ । 'अहिले कोभिड भाइरसले पनि हैरान गरेको छ देशलाई । अत्यन्त डरलाग्दो स्थिती छ । नयाँ नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन्, विज्ञहरू । मैले भनेकै हो, खोप खोप खोप भने । खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ,' उनले थपे, 'अहिले जत्ति पनि खोप छ । तर खोप लगाउन मान्छे चाहँदैन । त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोभिड भयो मान्छेहरूलाई । हामी अब जसरी भएपनि ओमिक्रोन भाइरसबाट मुक्त हुनुपर्छ । यस्तो बेलामा स्वास्थ्यका मापदण्ड पालना गर्न गराउन प्रोत्साहन गर्नुपर्छ ।’

प्रधानमन्त्री देउवाले अहिले देश कोभिड भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोभिडलाई परास्त गर्नुपर्ने बताए । देउवाले  कोभिडविरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोभिडबाट सुरक्षित हुन पनि आग्रह गरे । 


Author

थप समाचार
x