प्रमुख समाचार

नाबालिका बलात्कारपछि हत्या प्रयास : झाडीमा छाेडेर हिँडेका थिए अभियुक्‍त

बिक्रम खड्का |
माघ ५, २०७७ सोमबार १२:३ बजे

फाइल तस्वीर

बुटवल : पाँच वर्षीया बालिकामाथि बलात्कारपछि हत्या प्रयास भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा पाँच वर्षीया बालिकालाई एक युवाले बलात्कारपछि हत्या प्रयास गरेका हुन् । घरबाट पसल जाँदै गरेकी बालिकालाई २८ वर्षीय युवकले बलात्कार गरेको आरोप लागेको हो । अभियुक्त कपिलवस्तु बाणगंगा-१२ घर भएका हाल तिलोत्तमा नगरपालिका-१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक रहेका हुन् । घटना माघ १ गतेको हो ।

बालिका हराएको सूचना आएपछि खोज्‍ने क्रममा बालिकालाई नजिकै रहेको स्थानीयको खेतनजिकै खोल्सामा अचेत अवस्थामा उनको अभिभावकहरुले फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए ।


अपराह्न ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुका करिब ७.४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । खोजतलास गर्ने क्रममा तिलोत्तमा-१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भीर अवस्थामा फेला पारेको थियो ।

मुखमा चोटपटक लागेकी बालिकाको गम्भीर अवस्थामा अहिले काठमाडौँ टिचिङ अस्पतालमा उपचार भइरहेको छ । बालिकालाई पहिला रुपन्देहीको सरकारी अस्पताल र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारको लागि पठाए पनि उपचार हुन नसकेपछि काठमाडौँ वीर अस्पताल पठाइएको थियो । वीर अस्पतालमा पनि उपचार सम्भव नभएपछि टिचिङ अस्पताल रिफर गरिएको हो ।

घटनाको विवरण अनुसारर अभियुक्त विकले घटना स्वीकार गर्दै बालिका मरेको भन्दै झाडीमा छाेडेर हिँडेका थिए । विवाहपछि श्रीमतीले छाडेको ति युवाले यसअघि पनि यस्ता गतिविधिको प्रयास गरेको स्थानीय माधवी साहनीले बताइन् । उनले गोठमा काम गर्ने उक्त युवाले महिला तथा बालबालिकाहरुलाई गलत नजरले हेर्ने गरेको दाबी गरिन् । 


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x