प्रमुख समाचार

'आँशुका व्यापारी'को कठघरामा भागरथीका आफन्त

नवराज पनेरु |
माघ ३०, २०७७ शुक्रबार ७:१५ बजे

धनगढी : पति वियोगको डेढ महिनामै छोरी गुमाएकी बैतडीको दोगडाकेदार-७ चडेपानीकी दुरा भट्टको आँशु थामिएको छैन् । १७ वर्षीया छोरी भागरथीको बलात्कारपछि हत्या भएपछि दुराको बोली फुट्न सकेको छैन् ।

उनको भोक निन्द्रा पनि हराएको छ । खाना त पकाउँछिन् तर खान नपाउँदै आँशु झरिहाल्छ र आफुलाई पकाएको खाना गाईबस्तुलाई दिन्छिन् । घरी छोरीलाई बोलाउँदै भक्कानिन्छिन् त घरी बेसहारा भएको सम्झिएर । गाउँले र आफन्तले उनलाई सम्झाउँन खोज्छन् तर चडेपानी पुगेका युट्युबरका नानाथरि प्रश्नले झनै पीडा थपिदिन्छ । एकपछि अर्को पीडाले दुराको बोली बन्द भएको छ तर युट्युबरका नानाथरि प्रश्न सकिएका छैनन् ।


चडेपानी पुगेका माइक्रोलिंक मिडिया नामको एक युट्युब च्यानलका सञ्चालक भोजराज थापाले भागरथी हत्या प्रकरणका पाँच भिडियो अपलोड गरेका छन् । भिडियोमा थापाले भागरथीकी आमा दुरा भट्ट, भागरथीकी भाउजु र गाउँलेसँगको अन्तर्वार्ता देखाएका छन् ।

‘भागरथीको न्यायका लागि आवाज बुलन्द पार्न हामी यहाँसम्म आएका छौँ’ भन्दै अन्तर्वार्ताको सुरुवात गरेका थापाले दुरालाई एकपछि अर्को गर्दै प्रश्न तेर्साए । भोजराजको प्रश्नको जवाफ दिन खोज्दा अन्तर्वार्ताकै क्रममा दुरा पटकपटक भक्कानिएर रुन्छिन् तर भोजराज रोकिदैनन् । दुराको गाउँले भाषाको अनुवाद गर्नका लागि भागरथीकी भाउजुलाई पनिसँगै राखेर भोजराज प्रश्न तेर्साउँछन् । भोजराज मात्रै होईनन्, अहिले चडेपानीमा आधा दर्जन युट्युबर पुगेका छन् । उनीहरु पालैपालो पीडित पक्षको अन्तर्वार्ता लिईरहेका छन् र सोधिरहेका छन्, ‘कसले र किन गर्‍यो भागरथीको बलात्कार र हत्या ?’ उनीहरुसँग ति प्रश्नको जवाफ छैन् ।

पीडित पक्षलाई नानाथरि प्रश्नले झनै पीडा हुने भन्दै चडेपानीमा युट्युबरलाई रोक लगाउने प्रयास पनि भएको हो । बैतडीका पत्रकार लोकेश साउँद भन्छन्, ‘भागरथीलाई न्याय दिन्छौँ भन्दै आएका युट्युबरहरुले अर्धचेत अवस्थामा रहेकी उनकी आमालाई चाहिने-नचाहिने कुरा सोधेर मानसिक रुपमा झन कमजोर बनाउने र उनकै आँशु युट्युबमा बेच्‍ने काम गरिरहेका छन् ।’ युट्युबरले आँशुको व्यापार गरिरहेको आरोप साउँदको छ ।  भागरथीका काका शिवराज भट्टले पनि नानाथरि प्रश्नले झनै पीडा थपिएको बताए । ‘दिनकै दर्जन बढिले अन्तर्वार्ता लिन्छन्,’ भट्टले भने, ‘भागरथीको न्यायका लागि भन्दा पनि आफु हाईलाईटमा आउनका लागि अन्तर्वार्ता लिएको जस्तो लाग्‍न थालेको छ ।’

युट्युबरले पीडितलाई नै कठघरामा उभ्याएको यो पहिलो पटक भने होईन् । ७ असोजमा बझाङको मष्टा गाउँपालिका-२, खिकालाकी १२ वर्षीया बालिकाका सम्झना कामीको बलात्कारपछि हत्या भयो । प्रहरीले उक्त घटनामा संलग्‍न रहेको भन्दै स्थानीय राजेन्द्र बोहरालाई पक्राउ गर्‍यो । सम्झनाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले सार्वजनिक गरेका बोहरामाथि अर्को बलात्कारको घटना पनि दर्ता भयो । बोहरामाथि बलात्कारको आरोप लगाउने किशोरीको नै युट्युबर थापाले अन्तर्वार्ता लिए ।

बलात्कृत बालिकालाई कसरी बलात्कार भयो ? कहाँ भयो ? लगायतका प्रश्न सोधिएको थियो । कैलालीमा क्‍वारेन्टाइनमै बलात्कारको घटना सार्वजनिक भएपछि पनि युट्युबरको ओईरो लागेको थियो । अन्तर्वार्तामा पीडित महिलाको अनुहार नै देखाएर कठघरामा उभ्याईएको थियो र सोधिएको थियो, ‘कसरी भयो ? कस्ले गर्‍यो ? के-के गर्‍यो ?’ 
 


Author

थप समाचार
x