प्रमुख समाचार

भातिज अपहरण गर्ने काकासहित दुई पक्राउ

सुभाष कर्ण |
फागुन १०, २०७७ सोमबार २०:३१ बजे

जनकपुरधाम : सिरहा प्रहरीले आफ्नै भातिजको अपहरण गरेको आरोपमा काकासहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका-१ डुम्बाखाताका कुलदिप यादव र वडा नं. १५ सुखचैनाका भरोसी यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । 
 
पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार  पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो । गत माघ २० गते सिरहाको सिरहा नगरपालिका-१ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपता भएका थिए । 

बालक घरबाटै बेपत्ता भएको सूचना प्रहरीमा दिएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा भारतको खाजेडीह भन्‍ने स्थानबाट माघ २२ गते उद्धार गरेको थियो ।  


अनुसन्धानको क्रममा अपहरणमा पारिवारिक सदस्यकै संलग्‍नता देखिएपछि प्रहरीले सूक्ष्म अनुसन्धान थालेको थियो । अनुसन्धानबाट बालककै काकाको संलग्‍नता देखिएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक शर्माले बताए ।

उनका अनुसार  कुलदिपको योजना अनुसार भरोसीले बच्चाको अपहरण गरी भारतको बिहारमा पर्ने पचहर भन्‍ने ठाउँमा लगेर राखेका थिए । भारतीय प्रहरीको सहयोगमा सिरहा प्रहरी दुई दिनमै बालकको सकुशल उद्धार गर्न सफल भएको उनले बताए ।

प्रहरीले दुवैजनालाई पक्राउ गरी आइतबार जिल्ला अदालत सिरहाबाट अपहरण तथा शरीर बन्धक मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान थालेको प्रवक्ता शर्माले जानकारी दिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x