प्रमुख समाचार

काकीसँग अनैतिक सम्बन्ध राखेको भन्दै काकाले गरे भतिजको हत्या

बिक्रम खड्का |
फागुन २८, २०७७ शुक्रबार १०:१३ बजे

भजित दिनेश लोधको हत्यामा संलग्‍न काका रामवरण लोध ।

बुटवल : रुपन्देहीको गैडहवामा पत्नीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक जनाको हत्या गरिएको खुलेको छ । गैडहवा गाउँपालिका-६ स्थित गुलरियाका २६ वर्षीय दिनेश लोधको हत्या भएको पुष्टि रुपन्देही प्रहरीले गरेको छ । हत्या गरेर फालेको अवस्थामा १७ मंसिरमा सोहि स्थानको पर्सा-कलौनी सडक खण्डको पूर्व किनारमा शव फेला परेको थियो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी र ईलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले उक्त घटनाको अनुसन्धान गर्दा सोही स्थानका ३१ वर्षीय रामवरण लोधले हत्या गरेको अनुसन्धानबाट खुलेको छ । ‘घटनास्थलबाट उठाइएका सबुद प्रमाण, प्राविधिक पक्षको विश्‍लेषण र बुझिएका स्थानीय मानिसहरू समेतको भनाइको आधारमा मृतकको हत्या रामवरण यादवबाट हुन आएको खुलेको छ ।’ जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रविण पोखरेलको भनाई छ । 


दिनेश लोधको आफ्नी पत्नीसँग अनैतिक सम्बन्ध रहेका कारण हत्या गरेको रामवरण लोधले प्रहरीसँगको बयानमा बताएका छन् । इलाका प्रहरी कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय सुर्यपुराको टोलीले घटनाको अनुसन्धान गरेको थियो । घटनामा प्रदेश प्रहरी कार्यालयको सहयोगमा अनुसन्धानका लागि तालिमप्राप्त कुकुरको पनि प्रयोग गरिएको थियो ।

'रामवरण लोधले अभियोग स्वीकार गरिसकेका छन्, अब सोही अनुसारको कानुनी प्रकृयामा अगाडि बढाउँछौँ' ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरिक्षक रविन्द्र महतले भने । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि रामवरण लोधलाई प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका-७ शिवगढियाबाट पक्राउ गरेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Author

बिक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x