प्रमुख समाचार

कोभिड-१९ बढेपछि भारतबाट स्वदेश फर्किन थाले नेपाली

नवराज पनेरु |
चैत ८, २०७७ आइतबार १२:१ बजे

धनगढी : डोटीका पूर्वीचौकीका खडक ओली कोभिड प्रभाव कम हुँदै गएपछि चार महिनाअघि मात्रै भारत पसेका थिए । तर भारतमा फेरी कोभिड संक्रमण बढ्न थालेपछि शनिबार उनी कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन् । 

‘भारतमा कोभिडको संक्रमण फेरी बढेपछि लकडाउनको हल्ला चलेको छ,’ उनले भने, ‘हामी बस्ने पुनामा त झनै कोभिड बढेको छ । त्यसैले भारत गएको चार महिनामै घर फर्किनु पर्‍यो ।’उनले यसअघि बैशाखमा भारतबाटै घर फर्किदा निकै सास्ती खेपेका थिए । उनले अगाडि थपे, ‘विगतको जस्तो सास्ती नहोस भनेर अहिले नै घर फर्किएको हुँ ।’


कैलालीको गौरीगंगाका अनिल सिंह पनि शनिबार गौरीफन्टा नाकाबाटै घर फर्किएका छन् । भारतका विभिन्न शहरमा लकडाउनको हल्ला चलेकाले घर फर्केको उनले बताए । ‘नयाँ वर्ष पनि नजिकै आइरहेको छ,‘ उनले भने, ‘त्यहाँ कोभिड फेरि बढिरहेको छ । लकडाउन गर्ने हल्ला पनि चलेको छ । त्यसैले घर फर्किएको हुँ ।’ 

उनी पनि गत बैशाखमा लकडाउन भएका बेला घर फर्किएका थिए भने पुसमा फेरि भारत गएका थिए । कोभिड महामारीको सुरुवाती अवस्थामा पश्चिमी सीमा नाकाबाट झण्डै चार लाख नेपाली स्वदेश फर्किएका थिए । गत पुससम्म मात्रै सोही संख्यामा नेपाली फेरि भारत पसेका थिए ।  

पछिल्लो समय भारतमा ह्वातै कोभिड भाइरस संक्रमित बढेका छन् । पछिल्लो २४ घण्टामा मात्रै भारतमा ४३ हजार ८१५ जनामा संक्रमण पुष्टि भएको छ । यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोभिडको संक्र्रमण अस्वाभाविक रूपमा बढेसँगै भारतका विभिन्न ठाउँमा लकडाउनको घोषणा पनि भइरहेको छ । 

भारतमा कोभिड बढेपछि सीमा क्षेत्रमा पछिल्लो घर फर्किने नेपालीको संख्या बढिरहेको सीमामा रहेको हेल्थ डेस्कका इन्चार्ज गणेशबहादुर साउदले बताए । भारतका विभिन्न राज्यमा कोभिड संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको थियो । 


 


Author

थप समाचार
x