प्रमुख समाचार

नाकामा फेरि उस्तै जोखिम

नवराज पनेरु |
चैत १२, २०७७ बिहीबार ७:१४ बजे

धनगढी : ठीक एक वर्षअघि ०७६ चैतमा सुरु भएको लकडाउनमा महाकालीमा पौडी खेल्दै दार्चुला पुगेपछि बैतडीको डिलासैनी गाउँपालिकाका लोकेन्द्र बोहराले भनेका थिए, ‘काल आएको रहेछ भने महाकालीले खाओस् भनेर हाम फालेँ । महाकालीको पानी घटेको रहेछ । जसोतसो भँगालो काटेँ । देशको किनार भेट्टाएँ ।’

मातृभूमिको किनार भेट्टाउन त्यो समयमा महाकालीमा हाम फाल्ने उनी मात्रै भने थिएनन् । उनीसँगै सय बढीले लकडाउन अवधिमा मातृभूमिमा पाइला टेक्न महाकालीमा हाम फालेका थिए ।


नदीमा रहेका ठूला ढुङगाको सहायताले मातृभूमिको किनारसम्म पुग्‍नेको संख्या पनि कम थिएन । पौडिन सक्नेले महाकालीमा हाम फालेका थिए त केही युवाले ढुङगाको सहायताले महाकाली पार गरेका थिए । तर पौडिन नसक्ने सयौँ नेपाली भने झण्डै दुई महिनासम्म धारचुलामै अलपत्र थिए ।

त्यस्तै पीडा कैलाली र कञ्चनपुरको सीमा पारी पनि थियो । चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि उनीहरूले डेढ महिना सीमा पारी कटाउनु परेको थियो । ०७६ चैतमा स्वदेश फर्किन महाकालीमा हाम फालेकाहरू त्यसको झण्डै ६ महिनापछि मुगलान पस्‍न नाकामा तछाडमछाड गर्दै थिए । उनीहरू भन्दै थिए, ‘स्वदेशमा बसेर छाक टार्नै मुस्किल भयो । रोगले भन्दा भोकले मरिन्छ कि भन्‍ने चिन्ता बढ्यो । पेट पाल्नकै लागि भए पनि जानु पर्ने अर्काको देश नै रहेछ । त्यसैले भारत गइरहेका छौँ ।'

६ महिनाअघि कोरोना भाइरसकै महामारीकाबीच भारत पसेका नेपाली फेरि स्वदेश फर्किन थालेका छन् । कारण हो, त्यही कोरोना । लकडाउन सुरुवाती अवस्थामा देखिएको सीमा क्षेत्रको दृश्य र अहिलेको दृश्य उस्तै हुन थालेको छ ।

रोजगारीका लागि भारत गएकाहरू भारतमा संक्रमण तीव्र भएपछि धमाधम स्वदेश फर्कने क्रम बढेपछि सुदूरपश्चिममा पुनः कोरोना संक्रमण फैलिने जोखिम फेरि बढेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमरबहादुर थापाका अनुसार पश्चिमी सीमा नाका गड्डाचौकी र त्रिनगरबाट दैनिक एक हजार जना नेपाली भित्रिरहेका छन् । नाकामा स्वास्थ्य सहायता कक्ष राखिएको भए पनि भारतबाट फर्कने सबैको ज्वरो नाप्‍ने र कोरोनाका लक्षणहरूबारे बुझ्‍ने काम नहुँदा जोखिम झनै बढेको हो ।

नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा खटिएका अहेब गणेशबहादुर साउदले जनशक्ति कम भएकाले सबैको स्वास्थ्य जाँच गर्न नसकिएको बताए । ‘हिजोसम्म हेल्थ डेस्कमा एक्लै थिएँ । एक्लैले सबैको जाँच गर्न सम्भव थिएन,’ उनले भने, ‘स्वास्थ्य कार्यालय कैलालीले चार जना स्वास्थ्यकर्मी खटाएकाले केही सहज भएको छ । उनका अनुसार सीमा क्षेत्रमा अहिले एन्टिजेन परीक्षण भइरहेको छ । 

कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पछिल्लो ४/५ दिनमा भारतबाट कैलाली भित्रिएका ११ जनामा कोरोना पुष्टि भएको जानकारी दिँदै भने, ‘भारतमा संक्रमण तीव्र रुपमा फैलिरहेकाले सीमा क्षेत्रका जिल्लामा पनि जोखिम बढेको छ । हामीले भिडभाड नगर्न आदेश जारी गरेका छौँ । अटेरी गर्नेलाई कारबाही हुन्छ ।’

भारतमा कोरोना संक्रमण बढ्न थालेपछि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर, बैतडीको झुलाघाट र दार्चुलामा स्थापना भएको हेल्थ डेस्कमार्फत् एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन आग्रह गरिएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । सावधानी नअपनाए सुदूरपश्चिममा संक्रमणले विगतको भन्दा भयावह रूप लिन सक्ने निर्देशक अवस्थीले बताए ।
 


Author

थप समाचार
x