संसद्

वर्तमान सरकारका प्रधानमन्त्री ओली नै हुन् भन्ने मेरो निस्कर्ष छः सांसद केसी

इकागज |
माघ २२, २०७९ आइतबार १६:५३ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ओलीका सबै भनाइहरु सुन्दा आफूले उनी नै प्रधानमन्त्री रहेको निस्कर्ष निकालेको बताए । उनले प्रधानमन्त्री दाहाललाई काँग्रेसले पुस २६ गते विश्वासको मत दिएसँगै ओली आतंकित भएको बताए । उनले अध्यक्ष ओलीका कुराहरु गणतन्त्र र २०६२÷०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक रहेको बताए । उनले पूर्व प्रधानमन्त्री र पूर्व सभामुखहरुलाई पनि बोल्ने समय तोक्नुपर्ने बताए । 


उनले भने, ‘२०६४ तिर की कता हो, पूर्व प्रधानमन्त्री र सभामुखले जति बोलेपनि हुने, पूर्वप्रधानमन्त्री एक जना नाम अहिले नलिऔँ, उहाँले ३९ मिनेट बोल्नुभयो, त्यतिबेला र आफ्नो भाषणा छोड्ने बेलामा मेरा दुई शब्द यही टुंग्याउँछु भनेर छोड्नुभयो, बोल्ने बेलामा ३९ मिनेट बोल्ने, त्यसैले सभामुखज्यु, पूर्वप्रधानमन्त्रीहरु र सभामुखहरुले जति बोल्नुहुन्छ, त्यत्ति समय दिनु हुँदैन, उहाँहरुलाई पनि समय निश्चित गर्नुपर्छ । आजको बोलिबाट मैले त्यही पहिलेको ०६४ कै पूर्वप्रधानमन्त्रीले ३९ मिनेट फटफटाएर मेरो दुई शब्द यहीँ टुंग्याउँछु भन्ने । अर्को अघि पूर्वप्रधानमन्त्रीले जे कुरा गर्नुभयो, नयाँ आएका साथीहरुलाई आश्चर्य लाग्नसक्छ । उहाँले रनभुल पार्न सक्नुहुन्छ । हामी त संसदमा पहिल्यैदेखि छौँ नि । उहाँलाई देखेका छौँ, सरकारमा, संसदमा बसेका छौँ । उहाँले जे जति आकाश पाताल जोडेर कुरा गर्नुभयो, त्यसको मुख्य कारण नेपाली काँग्रेसले राष्ट्रपतिमा जुल्कीहुल्की गरेको हुनाले सातोपुत्लो गएको छ, मुख्यकुरा त्यही हो । प्रवासीहरुको बारेमा गोहीको आँशु बगाउनुभयो, हामीले शुरुदेखि नै प्रवासीले नोट काम लाग्ने मताधिकार दिनुपर्छ भनेका थियौँ, उहाँले गोहीका आँशु निकाल्नुभयो । मैले के निस्कर्ष निकालेको छु भने अहिलेका प्रधानमन्त्री माननीय पुष्पकमल दाहाल होइन, उहाँ नै हो । उहाँलाई चिन्ता पुष्पकमलले सहमतिमा जानुपर्छ भन्दा २६ गते नै आतंकित हुनभएको छ । अहिले उहाँले गरेका कुरा गणतन्त्र र २०६२÷०६३ को आन्दोलनका उपलब्धिका लागि हानीकारक छ ।’

सांसद केसीले एमाले अध्यक्ष ओलीले आप्रवासी नेपालीको समस्याका बारेमा आज आएर गोहीको आँशु बगाएको भन्दै व्यंग्य गरे । 


Author

थप समाचार
x