संसद्

२० वटा विधेयक पास गर्ने सरकारको तयारी

हिउँदे अधिवेशन कहिलेसम्म चल्छ ?

इकागज |
माघ २३, २०७९ सोमबार १४:६ बजे

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहालले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । सोमबार बिहान प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिहरूलाई चलयामान बनाउने कुरामा छलफल गरेका हुन् । उनले छलफलका क्रममा संसद्‍मा कस्तो बिजनेस लैजाने र यो अधिवेशनमा कति वटा विधेयकहरू पास गर्ने भन्ने बारेमा प्रमुख सचेतकहरूबाट सुझाव लिएको छलफलपछि जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले जानकारी दिए । 

उनले संसद् अहिले प्रभावकारी नबनेको भन्दै संसद् भाषणको रमिता देखाउने कुरामै सीमित रहेको बताए । उनले आफूले नागरिकता ऐन, संघीय कर्मचारी ऐन जस्ता विधेयकलाई संसदको बिजनेस बनाइनुपर्ने कुरा अघि सारेको बताए । हिउँदे अधिवेशन अझै डेढ महिनासम्म चल्ने र यो बीचमा करिब २० वटा विधेयक संसद्‍बाट पास गर्ने प्रतिबद्धता प्रधानमन्त्री दाहालले जनाएको उनले बताए  । ‘नागरिकता ऐन, संघीय कर्मचारी ऐन, जस्ता विधेयक ल्याउनुपर्छ । त्यो पास गनुपर्छ भनेका छौँ । प्रधानमन्त्री गम्भीर बन्नुभएको छ,' उनले भने, 'करिब डेढ महिना यो सत्र चल्छ, यसमा करिब १५ देखि २० वटा विधेयक पास गर्ने प्रतिवद्धता जनाउनुभयो ।’


त्यस्तै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले प्रधानमन्त्रीले सदनलाई कसरी व्यवस्थित गर्ने र विधेयकहरूलाई कसरी जनमुखी बनाउनेलगायत विषयमा छलफल गरेको बताए ।‘बैठकमा सदनलाई कसरी व्यवस्थित गर्ने, यसका साथै विधेयकहरूलाई कसरी जनमुखी बनाउने, जनताका आवश्यक्तासँग कसरी जोड्ने, सुशासन कसरी कायम गर्ने, शान्ति प्रक्रियाका बाँकी कामलाई कसरी अघि बढाउने ? लगायतका अत्यावश्यक विधेयकलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गर्नुभएको छ,' नले भने । 

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संसद सुचारु भए पनि संसद्ले गर्ने कार्य सुखद् नभएको भन्दै प्रधानमन्त्रीले आज बैठक बोलाएको बताए । उनले प्रधानमन्त्रीसँग दलका प्रमुख सचेतकहरूले संसद्लाई कसरी सुचारु गर्ने भन्ने बारेमा छलफल गरेको बताए । 

नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वालाले संसदले बिजनेस नपाएको र संसद्‍मा विधेयकहरू अघि नबढिरहेको सन्दर्भमा प्रधानमन्त्रीले दलका प्रमुख सचेतकहरूसँग सुझाव लिएको बताए ।


Author

थप समाचार
x