संसद्

संसद्‌ बैठकमा अभद्र व्यवहार गरे के हुन्छ कारबाही ? कसरी जोगिए अमरेशकुमार ?

इकागज |
बैशाख २५, २०८० सोमबार १२:३३ बजे

काठमाडौँ- स्वतन्त्र सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेर प्रदर्शन गरेका छन् । आज बसेको प्रतिनिधिसभा बैठकको शुरुमै बोल्नका लागि हात उठाएका सांसद सिंहले बोल्न समय नपाएपछि कपडा खोलेर प्रदर्शन गरेका हुन् ।

सांसदहरू सिंह र प्रेम सुवालले आकस्मिक समयमा बोल्नुपर्ने माग गर्दै हात उठाएर उठाएका थिए । तर सभामुख देवराज घिमिरेले बैठकमा आकस्मिक समय र विशेष समय नरहेको र बैठक नियमित कारबाहीमा जाने भनेसँगै सांसद सिंहले आफ्नो सर्ट र भित्री गन्जी खोली विरोध जनाएका हुन् ।


छलफलमा भाग लिने सदस्यले के-के नियम पालन गर्नुपर्छ ?
संसद्‌ बैठकमा हुने छलफलमा भाग लिने प्रतिनिधिसभा सदस्य विभिन्‍न नियम पालना गर्नुपर्छ । अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने गरी बोल्न र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिङ्गलाई होच्याउने वा अरु कुनै किसिमले असर पर्ने गरी बोल्न र असंसदीय शब्द प्रयोग गर्न नहुने प्रतिनिधि सभा नियमावली २०७९ उल्लेख गरिएको छ ।

त्यसैगरी सभामुखको ध्यानाकर्षण गर्नको निमित्त उठ्नुपर्ने र सभामुखले निजको नाम बोलाएपछि वा इशारा गरेपछि मात्र बोल्नुपर्ने, सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने, बोल्न पाउने अधिकारलाई सदनको कार्यमा बाधा पार्ने मनसायले दुरूपयोग गर्न नहुने र संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने उल्लेख छ ।

कारबाहीबाट कसरी बचे सिंह ? 
सुरुमा सांसद सिंहले सभामुखले सचेत गराए । त्यतिगर्दा पनि उनले लगाएको लुगा खोल्न छाडेनन् ।

 

सभामुख घिमिरेले सोही नियमावलीको नियम ३० अनुसार चेतावनी दिए । चेतावनीपछि सिंहले आफूले खोलेको कपडा लगाउन सुरु गरे । चेतावनीपछि सिंहले लुगा लगाएपछि कारबाहीबाट जोगिए । यदि सांसद सिंहले सभामुखको चेतावनीपछि पनि लुगा खोलेर बसिरहेका भए कारबाहीमा पर्थे ।

संसद्‌ बैठकमा अभद्र व्यवहार गरे के हुन्छ ?
संसद्‌ बैठकमा अभद्र व्यवहार गर्ने प्रतिनिधिसभा सदस्यलाई आफ्नो व्यवहार नियन्त्रण गर्न सभामुखले चेतावनी दिन सक्नेछन् र चेतावनी पाएपछि त्यस्तो सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नु पर्ने प्रतिनिधि सभा नियमावली २०७९ परिच्छेद ६ को ३० लेखिएको छ ।

नियम ३० बमोजिमको आदेश पालन नगर्ने सदस्यलाई सभामुखले बैठक कक्षबाट बाहिर जान आदेश दिन सक्नेछन् । आदेश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर जानु पर्नेछ र निजले सो दिनको बाँकी अवधिको बैठकमा उपस्थित हुन नपाउने व्यवस्था छ ।

त्यसैगरी (२) उपनियम (१) बमोजिमको आदेश पाएपछि पनि त्यस्तो सदस्य बैठक कक्षबाट तुरून्त बाहिर नगएमा सभामुखले निजलाई मर्यादापालकको सहयोग लिई बाहिर निकाल्न सक्नेछन् भने (३) उपनियम (२) बमोजिम बैठकबाट निष्कासित सदस्यले त्यसपछिको तीन दिनसम्म सभा वा कुनै समितिको बैठकमा भाग लिन पाउने छैन । यसरी निकालिएकोमा सचिवले सोको सूचना सम्बन्धित समिति तथा संसदीय दललाई दिनेछन् । 


Author

थप समाचार
x