संसद्

संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट, यस्तो छ सम्भावित कार्यसूची

इकागज |
माघ २२, २०८० सोमबार ६:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- संघीय संसद्‌को हिउँदे अधिवेशन आजबाट सुरु हुँदैछ ।

संघीय संसद्‌को तेस्रो अधिवेशनको पहिलो बैठक संसद्‌ भवन नयाँबानेश्वरमा आज दिउँसो ४ बजेबाट सुरू हुनेछ । 


आजदेखि सुरू हुने प्रतिनिधिसभाको पहिलो बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् ।

संघीय संसद्‌ सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार सभामुख घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् । 

त्यसपछि सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने माननीय सांसदहरूको मनोनयनको निर्णय सुनाउने कार्यसूचीमा उल्लेख गरिएको छ ।

यसैगरी पहिलो विधेयकको रूपमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेश गर्ने तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


Author

थप समाचार
x