संसद्

मर्यादित संसद्‍, अमर्यादित सांसदहरू

सुभद्रा धिताल |
जेठ ४, २०८१ शुक्रबार ७:१२ बजे

काठमाडौँ- प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारूढ नेकपा (एमाले)का सांसदहरूबीच भनाभन मात्रै भएन धकेलाधकेलको अवस्था पनि आयो । सभामुख देवराज घिमिरेले बैठक सुरु गरेलगत्तै कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेर वेल घेराउ गर्न पुगेका थिए । उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर्’, ‘सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्’ जस्ता नारा लगाएका थिए ।

कांग्रेसले नाराबाजी गरिरहेका बेला सभामुख घिमिरेले कार्यसूचीमा प्रवेश गर्दै राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए । त्यसपछि राप्रपा, लोसपालगायत दलका सांसद पनि बसेको ठाउँबाट उठेर विरोध गरेका थिए ।


कांग्रेसले नाराबाजी गरिरहेका बेला केहीबेर रोकिएका सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त अर्को पत्र पनि पढेर सुनाए । लगत्तै उनले कांग्रेसले सहकारी प्रकरणमा आरोप लगाएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बोल्न समय माग गरेको भन्दै समय दिएको जानकारी संसद्लाई गराए । सोपश्चात् गृहमन्त्री लामिछाने आफू बसेको ठाउँबाट उठे ।

सो क्रममा सत्तारूढ दलका सांसदहरू पनि उठे । एमाले अध्यक्ष केपी शर्मा ओली पनि उठेका थिए । नाराबाजी गरिरहेका कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरूङ र ओली आमनेसामने भए । उनीहरूबीच भनाभन भएजस्तो देखिन्छ । ओली र गुरुङबीच भनाभन हुनुको कारण थियो गुरुङ उपसभामुखको रोष्टममा उभिनु । यत्तिकैमा एमाले अध्यक्ष ओली पनि उठेर त्यता नजान भनेका थिए । जसका कारण संसद्‍मा उनीहरूबीच भनाभन र गुरुङले ओलीमाथि औँला ठम्याउँदै के-के भनिरहेका थिए ।

यसपछि एमालेका सांसद ठाकुर गैरे, प्रमुख सचेतक महेश बर्तौला ओलीभन्दा अगाडि उभिए भने कांग्रेसका गुरूङसँगै कांग्रेस सांसद देवप्रसाद तिमिल्सिना पनि सँगै पुगे । सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त दुई वटा पत्र पढेपछि गृहमन्त्री लामिछानेलाई बोल्न समय दिए । सभामुखले गृहमन्त्रीलाई समय दिएपछि कांग्रेस सांसदहरू गृहमन्त्रीलाई रोष्टममा जानबाट रोक्नतिर लागे ।

सभामुखले समय दिएपछि पहिलो लहरमा बसेका गृहमन्त्री लामिछानेलाई रोष्टममा जाने बाटो दिन उपसभामुख इन्दिरा रानामगर आफू बसेको सिटबाट उठिन् । उनी सिटबाट उठेपछि उक्त ठाउँमा कांग्रेसका सांसद धनराज गुरूङ उभिए । 

त्यसपछि सदन मुठभेडतर्फ अघि बढेपछि सभामुख घिमिरेले गृहमन्त्री लामिछानेलाई आसन ग्रहण गर्न भनेका थिए । सदनमा भनाभन र मुठभेड उग्र बन्दै गएपछि सभामुख घिमिरेले कार्यसूचीको बाँकी कार्यक्रमहरू सूचीबाट हटाइएको जानकारी गराए । र, सभामुखले प्रतिनिधिसभाको बैठक स्थगितको घोषणा गरे । अब अर्को बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित गरे । बैठक स्थगित भए पनि प्रतिपक्ष र सत्तापक्षबीच भने धकेलाधकेल र भनाभन सकिएन । ठूला भनिएका दलका नेताहरूले आफ्नो अमर्यादित व्यवहार भने सदनमा देखाइरहे ।   

बिहीबारको सदनमा भएको अप्रिय घटनामा प्रतिक्रिया दिँदै नेपाली कांग्रेसले सभामुख पार्टीको इसारामा चलेको आरोप लगाएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभामुख पार्टीको इसारामा चलेर जबर्जस्ती संसद् चलाउन खोजेको आरोप लगाएका हुन् । उनले एमालेका सांसदहरूले इसारा गर्ने र सभामुखले बैठक अगाडि बढाउने दृश्य अनौठो देखिएको टिप्पणीसमेत गरे । उनले यसअघि कहिल्यै पनि सभामुख प्रतिपक्षी दल उठेपछि सभा सञ्‍चालन गरेको आफूले नदेखेको बताए ।

यता नेकपा एमालेले भने प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा असंसदीय व्यवहार गरेको आरोप लगाएको छ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय अराजकता मच्याएको आरोप लगाउँदै संसद्‌मा मुठभेडको थलो नबनाउन आग्रह गरे । उनले कांग्रेसले संसद्‍मा आफ्नो कुरा लादिरहने र अरूको कुरा नसुन्ने बाटोमा हिँडिरहेको आरोप लगाए । उनले कांग्रेसले संसद् अवरोध गरिरहे बैठक अगाडि बढ्ने दाबी गर्दै संसद्; लाई बन्धक बनाउन नमिल्ने बताए ।

यता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिँदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबी गरेका छन् । उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने बताए । उनले कांग्रेसका नेताहरू पिच्छे फरक कुरा गर्ने गरेको बताउँदै अब आफूहरू संसदीय छानबिन गर्न तयार नहुने उल्लेख गरे ।

यस्तै संसद् बैठकपछि संसद् भवनमा पत्रकार सम्मेलन गर्दै महामन्त्री गगन थापाले बिहीबार प्रतिनिधिसभामा भएको घटनाको जिम्मेवारी सभामुखको भएको भन्दै सभामुखले निष्पक्ष व्यवहार देखाउन नसकेको आरोप लगाए । सदनलाई जबरजस्ती कार्यसूचीमा प्रवेश गराएर सभामुखले अप्रिय अनपेक्षित स्थिति सिर्जना गरेको उनले बताए । त्यस्तै थापाले सभामुख एउटा पार्टीको नेताको आदेशपालकको रूपमा देखिने कुरा दु:खद रहेको धारणा राखे । 

उनले सत्तापक्षले नै संसद्लाई मुठभेडतर्फ धकेल्न खोजेको भन्दै यस विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्ने बताए । त्यस्तै उनले पुराना जुनसुकै फाइल खोल्न सरकारलाई चुनौती दिए । थापाले रवि लामिछानेले सहकारीको रकम निजी कम्पनीमा खर्च गरेको र त्यो ठगी नै भएको दाबीसमेत गरे ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी जिम्मेवार नदेखिएको बताएकी छन् । उनले प्रतिपक्षी दलका सांसदहरू सरकारको रोष्टममा छिर्नु गलत भएको र यो गैरसंसदीय अभ्यास भएको जिकिर गरिन् । गृहमन्त्रीलाई बोल्न दिइने सहमति भएपनि प्रतिपक्षी दलले अन्त्यमा भाँडेको उनले बताएकी थिइन् ।

त्यस्तै माओवादी सांसद माधव सापकोटा सुबोधले कांग्रेसका सांसदहरूले सदनमा मर्यादा भुलेको भन्दै माफी माग्नुपर्ने धारणा राखेका थिए । सभामुखलाई उठाएर उनको आसनमा गएर उभिनु असंसदीय भएको उनको भनाइ थियो ।


Author

थप समाचार
x