संसद्

१६ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन

इकागज |
असोज ३, २०८१ बिहीबार १५:४८ बजे

काठमाडौँ - संसदीय सुनुवाइ समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम बहुमतले अनुमोदन गरिएको समिति सभापति ईश्वरी न्यौपानेले जानकारी दिए । शैक्षिक योग्यताको प्रमाणपत्रको विषयमा प्रश्न उठेपछि श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम भने अनुमोदन नगरिएको उनले बताए । ​


उनको शैक्षिक योग्यताको प्रमाणपत्र आएपछि अर्को बैठकमा थप छलफल गर्ने सभापति न्यौपानेले बताए । राजदूतको नाम अनुमोदन गर्दा विभिन्न दलका समिति सदस्यहरूको फरक–फरक मत आएपछि सर्वसम्मत भने हुने सकेन ।

बैठकमा रास्वपा सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत कपिलमान श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिम्सिनाका विषयमा र जसपा नेपालका सांसद प्रकाश अधिकारीले भारतकालागि प्रस्तावित राजदूत शंकर शर्माका साथै पण्डित, श्रेष्ठ र तिम्सिनामाथि फरक दर्ज गराएको सभापति न्यौपानेले जानकारी दिए । 

यस्तै बैठकले प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमान सिंह राउत र अन्य दुई देशका प्रस्तावित राजदूत उपर सार्वजनिक उजुरी आह्वान गरेको छ । संवैधानिक परिषद्बा‍ट प्रधानन्यायाधीशमा सिफारिस प्रकाशमानसिंह राउत, अस्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादव र बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्साल उपर सार्वजनिक उजुरी आह्वान गर्ने गर्ने निर्णय गरिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताए । 

संविधान अनुसार सिफारिस भएकाहरूको संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ ।


Author

थप समाचार
x