संसद्

प्रदेश-१ सभाको आठौं अधिवेशन अन्त्यको सिफारिस

इकागज |
साउन ३२, २०७८ सोमबार १५:५३ बजे

विराटनगर - प्रदेश-१ सरकारले प्रदेश सभाको जारी आठौं तथा बजेट अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद बैठकले आजै राति १२ बजेबाट प्रदेश सभाको अधिवेशन अन्त्य हुने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

उनले सरकारले कुनै पनि बेला आवश्यक पर्दा अधिवेशन बोलाउन सक्ने भएकोले अहिलेलाई अधिवेशन अन्त्य गरिएको बताए । 


प्रमुख राजनीतिक दलहरु नै आ-आफ्ना पार्टीभित्रको छलफलमा बढि केन्द्रित भएको र सांसदहरूको उपस्थिति पनि पातलिँदै गएकोले आवश्यक पर्ने बितिक्कै बोलाउने गरी अधिवेशन अन्त्य गरेको प्रवक्ता कार्कीले जानकारी दिए । 

‘पछिल्लो सदनमा सांसदहरूको त्यति उपस्थिति पनि देखिएन’ कार्कीले भने, ‘यो निर्णय सवै दलसँगको अनौपचारिक सल्लाहले नै गरिएको हो ।’

उनले एक/डेढ महिनाभित्र प्रदेश सभाको नयाँ सभाहल पनि तयार हुने र सहज रूपमा प्रदेश सभाको बैठक बस्‍न सकिने भन्दै विधेयकहरू संसद्‍मा टेबुल हुँदाहुँदै पनि अधिवेशन अन्त्य गरिएको बताए ।

बजेट अधिवेशन गत जेठ २४ गते सुरु भएको थियो । सभामुख प्रदीपकुमार भण्डारी सोमबारको बैठकमा अर्को बैठक भदौ १ गते मंगलबार दिनको १ बजे बस्ने बताएका थिए । तर संसद्‍मा विधेयकहरूमाथि छलफल चलिरहेको बेला सरकारले अचानक बजेट अधिवेशन अन्त्य गरेको हो ।
 
यो अधिवेशनले प्रदेश सरकारको बार्षिक नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेको छ । त्यस्तै प्रदेश कृषि व्यवसाय प्रवर्द्धन अनुदान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको संसद सचिवालयका सूचना अधिकारी प्रमोद विकले जानकारी दिए । उनले चालू बजेट अधिवेशनमा हालसम्म २८ वटा बैठक बसेको बताए ।


Author

थप समाचार
x