संसद्

प्रदेश २ काे नाम र राजधानी मतदान प्रक्रियाबाटै टुंग्याइने

सुभाष कर्ण |
पुस २७, २०७८ मंगलबार १५:७ बजे

जनकपुरधाम - प्रदेश २ को स्थायी राजधानी र नाम मतदान प्रक्रियाबाटै टुंग्याइने सहमति भएको जनाइएकाे छ । स्थायी राजधानी र नामका लागि प्रदेश सभामा पेस भएका प्रस्तावहरुमध्ये कुनैमा पनि सहमति जुट्न नसकेपछि अब मतदान प्रक्रियाबाटै टुंग्याइने दलहरूबीच छलफल भएकाे प्रदेशसभा सचिवालयले जनाएको. छ।

सभामुख यादवको सभापतित्वमा प्रदेशको स्थायी राजधानी र नामका लागि प्रस्तावमा छलफल गर्न संसदीय समितिकाे आइतबार बसेकाे सर्वदलीय बैठकमा नाम र राजधानीको प्रस्तावमा मतदान गर्ने सहमति भएको सचिवालयका निमित्त सचिव रञ्जित यादवले बताए ।


निमित्त सचिव यादवका अनुसार माघ पहिलो सातामै मतदान प्रक्रियाबाट प्रदेशको नाम र राजधानी टुंगो लगाउने सहमति भएकाे छ । समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुरधाम र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो । तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको हो ।

मतदानका लागि कुनै पनि प्रस्तावमा बहुमत नहुँदा नाम र राजधानीको प्रस्ताव पुनः अस्वीकृत सम्भावना रहेकाे छ । नाम र स्थायी राजधानीका लागि संसदमा दुई तिहाइ बहुमत आवश्यक छ ।

जसपा, लोसपा र माओवादी केन्द्रले प्रस्ताव गरेको मधेस प्रदेशको प्रस्तावमा सांसदको संख्या ६३ छ । उनीहरूलाई आफ्नो प्रस्ताव पारित गराउन अझै ७ जना सांसद आवश्यक रहेकाे छ । जानकीको पक्षमा एमाले र नेकपा एकीकृत समाजवादीका २१ जना सांसद रहेका छन् । त्यसैगरी १९ सांसद रहेको नेपाली कांग्रेसले मिथिला भोजपुराकाे पक्षमा रहेकाे छ भने कांग्रेस सांसद राजेश्वरप्रसाद साह मध्य मधेसको पक्षमा प्रस्ताव गरेका छन् ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x