दल

रुपन्देही-२ मा पौडेललाई सहज : सत्ता गठबन्धन उम्मेदवारविहीन, गुरुङ र निकोलस भुसालको उम्मेदवारी खारेज

विक्रम खड्का |
असोज २६, २०७९ बुधबार ६:५१ बजे

बुटवल - मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन हुने भएको छ । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको छ । 

साथै हाम्रो नेपाली पार्टीका उम्मेदवार डा. निकोलस भुसाल भनिने कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ । निर्वाचन अधिकृतको कार्यालयले मंगलबार एक सूचना प्रकाशित गरी उनीहरूको उम्मेदवारी खारेज गरेको जनाएको हो । सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले मंगलबार राति एक सूचना प्रकाशित गरी गुरुङ र भुसालको उम्मेदवारी खारेज भएको जानकारी गराएका हुन् । 


गुरुङ गठबन्धनको तर्फबाट नेकपा एसका उम्मेदवार थिए । सरकारी छात्रवृत्तिमा अध्ययन गरिरहेका भुसाल र गुरुङविरुद्ध आयोगमा उजुरी परेको थियो । 

चिकित्सा शास्त्र अध्ययन संस्थानमा सरकारी छात्रवृत्तिमा अध्ययनरत भुसाल चुनाव लड्न पाउँदैनन् ।

गुरुङलाई प्रतिनिधि सभा निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा निर्वाचन निर्देशिका २०७९ को दफा १६ (ज) अनुसार उम्मेदवार हुन अयोग्य देखिएकोले उम्मेदवारको मनोनयन खारेज हुने निर्णय भएको व्यहोरा आयोगको सूचनामा उल्लेख छ । 

मंसिर ४ गते हुने निर्वाचनका लागि असोज २३ गते आइतबार उम्मेदवारी मनोनयन भएको थियो ।


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x