दल

एमालेको विकासको काम देखेर दलहरू आतिए : अध्यक्ष ओली

सुभाष कर्ण |
असोज २४, २०८० बुधबार १९:४५ बजे

जनकपुरधाम - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीको विकासको काम देखेर अन्य दलहरु आतिएको बताएका छन् ।

नेकपा एमाले मधेस प्रदेशको प्रथम अधिवेशन कार्यक्रमलाई उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले हाम्रो पार्टी नेतृत्वको सरकारले छोटो समयमा गरेको विकासको काम देखेर कांग्रेस र माओवादी सहितका दलहरु आतिएको बताएका हुन् । 


एमालेले सुशासनको कुरा गर्छ, विकासको कुरा गर्छ सोचेर अन्य दलका नेता कार्यकर्ताहरू एमालेप्रति आकर्षित भइरहेको उनले बताए । उनले भने, 'एमाले मौका पाउँदा विकास गर्छ, भ्रष्टाचारको अन्त्य गर्छ यही सब सोचेर अन्य दलहरू आँतिन गएको हुन् ।' एमालेले सुशासनको कुरा गर्छ, विकासको कुरा गर्छ सोचेर अन्य दलका नेता कार्यकर्ताहरू एमालेप्रति आकर्षित भइरहेको उनले बताए । 

एमाले विकासको कुरा गर्ने भएकाले जनतामा एमालेप्रति आकर्षण छ, त्यही भएर देशैभरी एमाले बाहेकका दलहरूको भविष्य अन्धकारमय रहेको दाबी समेत उनले गरे । उनले मिसन २०८४ सफल पार्न आउँदो निर्वाचनका लागि अहिलेदेखि नै तयारीमा जुट्न नेता कार्यकर्ताहरूलाई निर्देशन दिँदै देशलाई समृद्ध बनाउनका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेकाले एकल बहुमत ल्याउने गरी तयारीमा अहिले देखि नै जुट्न आवश्यक रहेको बताए । 

साथै उनले प्रत्येक वडामा ५१ प्रतिशत एमाले कार्यकर्ता पुर्याउन निर्देशन दिदैं अध्यक्ष ओलीले आउँदो निर्वाचनमा मधेसमा समेत एकल बहुमतको सरकार बनाउनका लागि प्रत्यक्ष र समानुपातिक गरी ६० सिट जित्ने गरी तयारीमा लाग्न चयन हुने नयाँ कार्यसमितिसहित कार्यकर्ताहरूलाई निर्देशन दिए । 

अधिवेशनको उद्‍घाटन सत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तराई मधेसको समृद्धि बिना नेपाल उठ्न नसक्ने बताए । नेपाललाई उठाउन तराई मधेसको समृद्धि आवश्यक रहेको उनको भनाइ छ । उनले एमाले पार्टीको जन्म थलो नै तराई मधेश रहेको बताए । केही दिनअघिसम्म एमालेप्रति तराई मधेशमा भ्रम फैलाइएको थियो । तर पछिल्लो निर्वाचनमा यहाँका जनताले मधेश प्रदेशमा पहिलो पार्टी बनाएर विकास र समृद्धको एकमात्र पार्टी एमाले रहेको देखाइ दिएको उनको दाबी छ । 

महासचिव शंकर पोखरेलले देशको सात वटै प्रदेशहरू मध्ये मधेशको सरकार बजेट खर्च गर्न नसक्ने, गरेकोमा काम कम र भ्रष्टाचार तथा बेरुजू धेरै गर्ने गरेर सरकार चलाउन असक्षम सावित भएकाले एमालेको एकल बहुमतको सरकारको माग गरे ।

जसपा र लोसपाका लगायतका क्षेत्रीय दलहरूले मधेशका एजेण्डा, मर्म, विकास, पहिचान र अधिकारका लागि केही गर्छ भन्ने आशा मधेशी जनतामा थियो तर विगतका एक दशकको राजनितीले ति राजनितिकदलहरुको चरित्र र सत्तालोभले त्यो असम्भव सावित गरिदिएको एमाले मधेश प्रदेशका ईन्जार्च योगेश भट्टराईले बताए । 

पार्टी सचिव तथा कोशी प्रदेश ईन्चार्ज रघुवीर महासेठले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामकै कारण मधेशमा आज सडक, रेल सम्भव भएको र सिँचाई तथा कृषिको आशा जागेको बताए । पार्टी अध्यक्ष ओली पहिलो पटक रौतहटमा पक्राउ परेको हिजो असोज २३ गते पचास वर्ष पुरा भएको स्मरण गर्दै एमाले र मधेशको सम्बन्ध प्रगाढ रहेको खुलाए ।

पोलिटब्यूरो सदस्यहरू लिलानाथ श्रेष्ठ र जुली महतोले मधेशी दलहरूको नेतृत्वमा मधेशले के पायो र के गुमायो भन्ने कुरा बुझाउन आवश्यक नरहेको भन्दै एमालेको सरकार बिना मधेशको विकास असम्भव जस्तै प्रमाणित हुँदै गएको तर्क गरेका थिए ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x