दल

कान्तिपुरविरुद्ध रविले हाले मुद्दा

इकागज |
पुस १७, २०८० मंगलबार १५:६ बजे

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध मुद्दा दर्ता गराएका छन् । उनले कान्तिपुरविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गराएका हुन् ।  मंगलबार उनले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । 

कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया प्रबन्ध निर्देशक सम्भव सिरोहिया, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानलगायतलाई प्रतिवादी बनाइएको रिट निवेदनमा लामिछानेले आफ्नो इज्जत, प्रतिष्ठा, राजनीतिक जीवनमा समेत गम्भीर असर पुर्‍याउने कुशित मनसाय राखेर जानुबुझी चरित्र हत्या गरेको उल्लेख गरेका छन् । 


कान्तिपुर र इकान्तिपुरबाट आफूलाई जोडेर प्रकाशित समाचारबाट आफू र आफ्नो परिवारको इज्जत प्रतिष्ठा र राजनीतिमा समेत हानी नोक्सानी भएकाले प्रतिवादीहरुबाट कानुनअनुसार सांकेतिकरुपमा १५१ रुपैयाँ क्षतिपूर्ति दिलाउन उनको माग छ ।

सामाजिक सञ्जाल एक्समा लेख्दै लामिछानेले भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरुविरुद्ध कानुनी उपचारमा गएको बताएका छन् । केही दिनअघि कान्तिपुर दैनिकले सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप लगाउँदै लामिछानेका बारे समाचारहरू सम्प्रेषण गरेको थियो । 

उनले सामाजिक सञ्जालमा लेखेका छन्,'एउटा योद्धा लडाइँबाट पिठ्युँ फर्काएर भाग्दैन। हार जीतको पर्बाह नगरी उ इमानका साथ लडिरहन्छ। म आरोप लाग्नै नहुने मान्छे होइन। तर म समाचारमा आएका कुनै सहकारीको संचालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन। मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन। मेरो नाम राखिए/देखिए लगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु। म लोकतन्त्रको बलियो आधारमध्य एक, प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने छु। सहकारी पीडितहरूको पीडामा सदनमा भएका मध्य सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन। यो मेरो वचन भो। मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु।'


Author

थप समाचार
x