दल

ईश्वर पोखरेलको आरोप : गठबन्धनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई धूमिल बनाउने काम गर्‍यो

इकागज |
पुस २१, २०८० शनिबार १९:२२ बजे

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई गठबन्धनले धूमिल बनाउने काम गरेको आरोप लगाएका छन् ।

शनिबार ललितपुरमा राष्ट्रिय जनसांस्कृतिक महासंघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले एमाले राष्ट्रिय स्वाभिमान र विकासको स्पष्ट दृष्टिकोणको साथ अघि बढे पनि गठबन्धनले यसलाई धूमिल बनाउने काम गरेको आरोप लगाएका हुन् ।


प्रमुख प्रतिपक्षी दलसँग कुनै सल्लाह नगरी भारतका विदेश मन्त्री नेपाल आउँदा सरकारले गोप्य सम्झौता गरेको र यसलाई एमालेले गम्भीर रूपमा लिएको उनले बताए  । सम्झौताका नाममा राष्ट्रिय स्वाधीनतामा आँच आउने काम सरकारले गरेको पोखरेलको भनाइ छ ।

उनले सामाजिक सद्भाव विकास गर्नुपर्छ भन्ने एमालेको मान्यतामा आँच पुर्याउने काम गठबन्धनको तर्फबाट भएको समेत बताए ।

पोखरेलले भू-राजनीतिक संवेदनशीलताका कारण नेपाल धेरै किसिमका संकट झेल्न बाध्य बनेको बताए । सबै राष्ट्रिय शक्तिलाई गोलबद्ध गर्नु आजको आवश्यकता रहेको उनले बताए । 


Author

थप समाचार
x