दल

नागरिक उन्मुक्तिको पहिलो महाधिवेशन : अध्यक्षमा रञ्‍जिता कि रेशम ?

इकागज |
पुस २६, २०८० बिहीबार १०:५३ बजे

कैलाली- नागरिक उन्मुक्ति पार्टी (नाउपा)को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि कैलालीको टिकापुरमा हुँदैछ ।

२०७२ सालको थरुहट आन्दोलनको जगमा डिल्लीबजार कारागारबाट स्थापित नाउपाको महाधिवेशन तीन दिन हुने जनाएको छ । महाधिवेशनबाट पार्टीको नेतृत्व हेरफेर हुने स्रोतले बताएको छ ।


नाउपाका अनुसार महाधिवेशबाट २९ पदाधिकारी, ५०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । जसमा एक अध्यक्ष, एक सहध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सहभागी हुनका लागि देशभरका ५५ जिल्लाबाट ८ हजार प्रतिनिधि सहभागी हुँदैछन् । पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीको राजनीति दस्तावेज प्रस्तुत गर्नेछन् ।

अध्यक्षमा रेशम कि रञ्‍जिता ?
२०७२ सालको थरुहट आन्दोलनको जगमा स्थापित नाउपा गत आम निर्वाचनको सम्मुखमा खोलिएको थियो । दल दर्ताको छोटो समयमै नाउपाले सुदुरपश्चिम, लुम्बिनी तथा मधेश प्रदेशबाट राम्रो जनमत प्राप्त गरेको थियो । जसका कारण प्रतिनिधिसभामा ४, लुम्बिनी ४,  सुदुरपश्चिममा ७ सिट र मधेश प्रदेशमा १ सिट प्राप्त गरेको थियो ।

यस्तै स्थानीय तहमा चार पालिका प्रमुख, तीन पालिका उपप्रमुखसहित ९९ स्थानीय जनप्रतिनिधि जित्न सफल भएको थियो ।

पार्टीका वर्तमान संरक्षक रेशमलाल चौधरीले डिल्लीबजार कारागारबाट नै पार्टीको परिकल्पना तथा मार्गनिर्देशन गरेको थिए । उनी कारागारमा रहँदै स्थापना भएको पार्टीको अध्यक्ष हाल उनकै धर्मपत्नी रञ्‍जिता श्रेष्ठ चौधरी छिन् । रञ्‍जिता हाल नेपाल सरकारको भूमि व्यवस्था, गरिबी तथा सहकारी निवारण मन्त्री छिन् ।

प्रथम महाधिवेशनबाट पार्टीका नेतृत्व रेशमले नै गर्नुपर्ने माग केही कार्यकर्ताले राखेका छन् । कतिपयले भने रञ्‍जितालाई नै दाहोर्‍याउनुपर्ने अडान राखेका छन् । महिला नेतृत्व नै हुँदा राम्रो सन्देश जाने कतिपय महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।

रेशमले भने अहिले तत्कालै कुनै निर्णय गरिसकेका छैनन् । यद्यपि महाधिवेशनबाट पार्टीको संरक्षक रहने व्यवस्था हटाइँदैछ । ‘रेशम माननीय अब पार्टीको अध्यक्ष बन्नुहुन्छ, बन्नुपर्छ भन्ने हाम्रो माग थियो । अहिले पार्टीको संरक्षक पद हटाइँदैछ । यसको संकेत उहाँ अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ भन्ने हो’ नाउपाका एक नेताले भने ।

रेशम भने पार्टीको उद्घाटन सत्रपछि हुने बन्दसत्रका क्रममा आम महाधिवेशन प्रतिनिधिहरूको भावनाअनुसार उचित निर्णय लिने बताउँछन् । उनी भन्छन्, ‘अध्यक्ष को बन्ने ? पदाधिकारी को बन्ने ? भन्ने कुरा महाधिवेशन प्रतिनिधिले छनौट गर्ने कुरा हो । उहाँहरूको निर्णयअनुसार नै पार्टी अघि बढ्छ ।'


Author

थप समाचार
x