दल

२००४ सालदेखि नै नेपालको परिवर्तनमा महिलाको असाधारण योगदान छ : ओली

इकागज |
पुस २७, २०८० शुक्रबार १७:५२ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको बताएका छन् ।

अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीको तेस्रो बैठकलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरेक परिवर्तनमा ठूलो योगदान गरेको बताए ।


‘महिलाहरूले असाधारण योगदान गरेका छन्, असाधारण त्याग र बलिदान गरेका छन्,' उनले भने ।

आफ्नो कारणले मात्र होइन कहिलेकाहीँ परिवारका सदस्यको कारणले पनि महिलाले राज्यबाट धेरै यातना खेप्नु परेको ओलीले जिकिर गरे ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको अध्यक्ष ओलीको भनाइ छ ।

ओलीले नेपालको राजनीतिक परिवर्तन तथा सामाजिक न्याय र समानताको आन्दोलनमा अखिल नेपा महिला संघ (अनेमसंघ) को असाधारण भूमिका रहेको बताए ।

अनेमसंघ गठन हुनु अघि पनि महिलाहरूले नेपालको परिवर्तनमा असाधारण काम गरेको उनले स्मरण गरे । 

२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उनले स्मरण गरे ।

त्यसअघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको ओलीले बताए ।

 नेपालको राजनीतिक आन्दोलन जहाँ पुगेको छ, सो आन्दोलनलाई त्यहाँसम्म पुर्‍याउन महिलाको असाधारण योगदान रहेको ओलीले बताए ।

नेकपा एमालेलाई पनि आजको अवस्थामा पुर्‍याउन महिलाको सबैभन्दा महत्त्वपूर्ण योगदान रहेको उनले प्रष्ट पारेका छन् ।

आज हिजोको जस्तो नभएर महिलालाई सचेत गराउने र महिला आन्दोलनलाई संगठित ढङ्गले अगाडि बढाउने संगठित संस्थाको रूपमा अनेमसंघ रहेको ओलीले बताए । ‘विभिन्न समयमा पार्टीमा परेको संकटमा महिलाहरूको भूमिका सबैभन्दा प्रभावकारी छ,' उनले भने । 

नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनले स्मरण गरे । कतिपय पुरुषलाई के होला के होला भनेर धर्मर धर्मर भएको बेलमा पनि महिला नेता कार्यकर्तामा स्पष्टता र आत्मविश्वास रहेको आफूले पाएको ओलीले सुनाए ।


Author

थप समाचार
x