दल

'लघुवित्त र सहकारीको समस्या समाधान गर्न सरकार उदासीन, बेवास्ता गरे परिस्थिति विष्फोटक हुन्छ'

इकागज |
माघ १९, २०८० शुक्रबार २०:३१ बजे

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहकारी र लघुवित्तसम्बन्धी समस्याको समाधान गर्न सरकार उदासीन भएको भन्दै तत्काल समस्या समाधानका लागि ध्यान नदिए परिस्थिति विष्फोटक हुने चेतावनी दिएका छन् । 

समस्याको समयमै यथोचित ढङ्गले सम्बोधन गर्न नसके अर्थतन्त्र धरासायी हुने तथा समग्र आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पर्ने भन्दै थापाले ३ खम्बे नीतिअनुसार काम गर्ने भन्ने सरकारले एउटा खम्बा सहकारी क्षेत्र संकटग्रस्त हुँदा सरकारको ध्यान र समस्या समाधानमा उच्च प्राथमिकतामा नपर्दा अबस्था जटिल भएको थापाको धारणा थियो । 


सहकारी र लघुवित्तका कारण अहिले हरेक नेपाली जनताको घर घरमा समस्या उत्पन्न भएको चर्चा गर्दै थापाले ७३ लाख परिवारसँग जोडिएको विषयलाई सरकारले हलुका रूपमा लिएकोमा आपत्ति समेत प्रकट गरे । सहकारी सञ्चालक, बचतकर्ता र ऋणीहरू कसैलाई पनि अन्याय नहुने गरी सरकारले समस्या समाधानका लागि भएका सहमतिहरूको कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थापाले संकटग्रस्त सहकारी पहिचान गरी राष्ट्रियकरण गर्न समेत पछि पर्न नहुने तर समस्याको समाधान अनिवार्य रूपमा हुनुपर्ने आवश्यकता औंल्याए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष ओमदेबी मल्लले समस्या समाधानमा महासंघ सकारात्मक भूमिका खेल्न तयार भएको तर सरकारको प्राथमिकतामा यो विषय नपरेकोमा चिन्ता व्यक्त गरिन् । कार्यक्रममा पूर्व सचिव एवं विज्ञ गोपि मैनालीले कार्यपत्र प्रस्तुत गरेका थिए । 

कार्यक्रममा सहकारी सञ्चालक, सहकारीकर्मी, पीडित पक्षहरूले समस्या र समाधानको उपायका विषयमा आफ्नो आफ्नो धारणा राखेका थिए । राप्रपा नेपालको सहकारी विभागले कार्यक्रम गरेको तथा कार्यक्रमको निष्कर्षसहित सरकारलाई ज्ञापनपत्र बुझाइने विभागका प्रमुख राजकुमार खड्काले जानकारी दिए ।


Author

थप समाचार
x