दल

सांस्कृतिक महासंघले सर्वसम्मत निर्णय गरेर पठाएको जनार्दन आचार्यको नाम गोदावरी नपुग्दै काटियो

इकागज |
फागुन ७, २०८० सोमबार ११:१७ बजे

काठमाडौँ - नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक महासंघमा विवाद देखिएको छ । महासमिति सदस्यहरूको छनौटका विषयमा महासंघमा विवाद बढेको हो । महासंघले पाउने तीन जना महासमिति सदस्यहरूका लागि महासंघको २०८० माघ १२ गते पदाधिकारी बैठक बसेर सर्वसम्मत निर्णय गरेको थियो । 

बैठकले महाधिवेशन प्रतिनिधि मध्यबाट सर्वसम्मत रुपमा जनार्दन आचार्य, प्रभात मणि ओझा र दुर्गा रायमाझीको नाम पठाएको थियो । केन्द्रीय निर्वाचन समितिलाई माघ १७ गते पत्र लेख्दै महासंघले तीन जनाको नाम पठाएको थियो । तर आजबाट गोदावरीमा सुरु हुने महासमिति बैठकमा भने महासमितिमा सर्वसम्मत निर्णय गरेर पठाएकाको नाम नै छैन । 


सर्वसम्मत निर्णय गरेर एक नम्बरमा हालिएको जनार्दन आचार्यको नाम काटिएको छ । महासंघले महासमिति बैठकका लागि दुई जनाको नाम मात्रै सिफारिस गरेको महासमिति स्थानीय आयोजक समितिका एक सदस्यले जानकारी दिए । 'सांस्कृतिक महासंघले कांग्रेसको विधान अनुसार तीन जना महासमिति सदस्यहरू पाउने हो', उनले भने, 'महासमिति बैठकका लागि दुई जनाको नाम मात्रै आएको छ ।' 

आचार्यले महासमिति बैठकमा सहभागी हुन आइतबार परिचयपत्र लिन जाँदा आफ्नो नाम नभएको थाहा पाएको बताए । 'म सांस्कृतिक महासंघ खोल्ने संस्थापक हुँ मेरै नाम छैन भन्नुभयो, महासंघले निर्णय गरेर पठाएको नाम कहाँ पुगेर कस्को स्वार्थमा काटियो थाहा भएन',उनले भने । अध्यक्ष तीर्थ बहादुर थापाले आफ्नो नाम काटेको आरोप उनले लगाएका छन् । 

आचार्यले सामाजिक सञ्जालमा पनि लेखेका छन्, 'संस्थापनइतर सँग कति डर लागेको तीर्थ जी ? संस्थाले पाउने महासमिति गुमाउँदा लाज, शरम, घिन र आफूदेखि आफैंलाई ग्लानि भएन ?? संगठनकर्ता माथि बेइमानी गर्दा मन दुखेन ? पैसा क्षणिक हो सबैलाई चाहिन्छ तर इमान नबेचेको भए राम्रो हुन्थ्यो ।'

यता, अध्यक्ष थापाले यसबारे आफूलाई पनि केही थाहा नभएको बताए । उनले भने, 'के भएको हो म पनि बुझ्दैछु ।'


Author

थप समाचार
x