दल

महाधिवेशनमा प्रस्तुत गर्न एकीकृत समाजवादीले थाल्याे दस्तावेज लेखन

इकागज |
फागुन २०, २०८० आइतबार १०:५१ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी जेठमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्न दस्तावेज लेखन थालनी गरेको छ ।समाजवादी कार्यक्रमको संरचनासहितको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन यही फागुन मसान्तभित्र सम्पन्न गर्ने गरी  दस्तावेज लेखन सुरु भएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । 

पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदनको जिम्मेवारी तोकिएको छ भने सम्मानित नेता झलनाथ खनाललाई समाजवादी कार्यक्रम, उपाध्यक्ष डा बेदुराम भुसाललाई पार्टी विधान र महासचिव घनश्याम भुसाललाई सङ्गठनात्मक प्रस्ताव संयोजनका लागि कार्यविभाजन गरिएको छ । दस्तावेज लेखनका लागि आवश्यकतानुसार सम्बन्धित नेताको समेत सहयोग लिन सक्ने व्यवस्था गरिएको छ ।


सबै दस्ताबेजका मस्यौदामाथि छलफल गर्न यही फागुन २७ गते बैठक राखिएको छ । चारवटै विषयमा प्रतिवेदन तयार भएपछि  एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने जनाइएको छ । महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको पार्टीको समाजवादी कार्यक्रमको सैद्धान्तिक दृष्टिकोण, वर्तमान सङ्कटको वस्तुगत विश्लेषण र समाधानका लागि सङ्गठनात्मक कार्यदिशाबारे दस्तावेजमा समावेश गरिने समझदारी गरिएको छ ।

सचिव श्रेष्ठका अनुसार मस्यौदामाथि सुझाव संकलन गर्न मस्यौदा जिल्ला तहका कार्यकर्तालाई पठाइसकेको छ । उहाँहरूका सुझाव समावेश गरी तयार गरिने दस्तावेजमा पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, आगामी दिनमा सञ्चालन गर्ने राजनीतिक गतिविधि, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा रणनीति दस्तावेजमा समावेश गरिने छ ।


Author

थप समाचार
x