दल

गठबन्धनमा समस्या थियो, एमालेले पहलकदमी लिएकाले नयाँ बन्यो : शंकर पोखरेल

इकागज |
फागुन २८, २०८० सोमबार १४:१० बजे

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सत्ता सहकार्यलाई पूरै समय लैजान पर्दछ भन्ने मान्यता एमालेको रहेको बताएका छन् ।

स्थानीय तह कर्मचारी संघ नेपालको केन्द्रीय कमिटी दोस्रो बैठकलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको नयाँ सहकार्य एमालेको प्रयत्नको परिणाम भएको बताए ।


नागरिकमा छाएको निराशालाई आशामा परिणत गर्न पनि यो गठबन्धनलाई पूरा समय टिकाउनु पर्नेमा उनको छ । 'हामी यो सहकार्यलाई चारै वर्षसम्म पुर्‍याउनु पर्छ भन्ने मान्यता राख्दछौँ,’ उनले भने ।

पुरानो सत्ता गठबन्धनभित्र समस्या भएको थाहा पाएपछि एमालेले नयाँ समीकरण बनाउन प्रयत्न गरेको कारण नयाँ सत्ता समीकरण बनेको उनले प्रष्ट पारे । ‘त्यस कारण यसलाई जोगाउने कर्तव्य पनि हाम्रो हो,’ पोखरेलले भने ।

विगतको सरकार असफल भएकोले अहिलेको सरकारलाई सफल बनाउनु पर्छ भन्ने कुरामा ध्यान दिनु पर्नेमा उनको जोड छ । त्यसैले चार दलीय सहमतिमा तीनवटै तहका सरकारलाई प्रभावकारी बनाउने कुरा स्पष्ट रूपमा लेखिएको पोखरेलले बताए ।

पोखरेलले अहिले जनतामा निराशा फैलाएर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्ने प्रवृत्ति बढेको समेत बताएका छन् । ‘देशको स्वाधीनता, सार्वभौमसत्ता राष्ट्रिय हितलाई नै असर पार्ने प्रकारका गतिविधिहरू हुन थालेका छन्,’ उनले भने । 

पोखरेलले यस्ता प्रवृत्तिलाई रोक्नु पर्नेमा जोड दिँदै  यस्ता प्रवृत्तिलाई रोकेर जनतामा आशा सञ्चार गर्ने काममा कर्मचारीको पनि त्यतिकै भूमिका हुने प्रष्ट पारेका छन् ।

अब नागरिक राज्यका विद्रोही नभएर राज्यका सहयोगी र राष्ट्रका निर्माता भएको उनले बताए । यो धारणा सबै नागरिकमा विकास गर्नुपर्नेमा उनको जोड छ ।

जति राज्यबाट नागरिक टाढिन्छन् त्यति नै विकास र समृद्धि पनि टाढिने पोखरेलको धारणा छ । पार्टीका सामु अहिले अवसरवाद र सांगठनिक अराजकताको चुनौती रहेको बताउँदै पोखरेलले विचार र कामको अभावमा अवसरवाद जन्मिने भएकोले नियमित रूपमा वैचारिक र राजनीतिक प्रशिक्षण आवश्यक रहेको बताए । 


Author

थप समाचार
x