दल

त्यो ३५ घण्टा डा. शेखरले लुम्बिनी कांग्रेसमा एकताको सन्देश फैलाए

शान्तिको उद्गमस्थलबाट प्रजातान्त्रिक शक्तिको खोजी

अतिन आचार्य |
चैत १४, २०८० बुधबार १५:२५ बजे

काठमाडौँ- गिरिजा प्रसाद कोइरालाको १४ औ स्मृतिको दिन तिलोत्तमा नगरपालिकाका रामकृष्ण खाँण भैरहवा विमानस्थलमा बिहानैदेखि थिए ।  न उनी कतै जान त्यहाँ पुगेका थिए न त परिवारका कुनै सदस्यलाई बिदाइ तथा स्वागत गर्न ।

यसपटक खाँण विमानस्थल पुग्नुको उद्देश्य फरक थियो ।  उनको हाउभाउले कुनै भिआइपीको पर्खाइमा थिए जस्तो देखिन्थ्यो । उनको बसाइ र वरिपरीको भीडले फरक दृश्य देखाइ रहेको थियो ।


काठमाडौँबाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद शेखर कोइराला रुपन्देही जाँदै थिए । तिनै वरिष्ठ नेतालाई स्वागत गर्नु नै उनको प्रमुख उद्देश्य थियो । केही क्षणपछि कोइराला भैरहवा विमानस्थलबाट अवतरण गरेर आन्तरिक टर्मिनल कक्ष पुग्दा खाँणको नेतृत्वमा जय नेपालको नारा घन्कियो ।

खाँण नेपाली कांग्रेसमा देउवा निकटका हुन् । अर्थात कुनै समय देउवा समूहको निकट रहेका बालकृष्ण खाँणका उनी भाइसमेत हुन् । हाल तिलोत्तमा नगरपालिकाका प्रमुख र नेपाली कांग्रेसका रुपन्देही पार्टी सभापतिसमेत हुन् ।

कुनै समय कोइराला समूहको नेता गएका ठाउँमा देउवा समूहका नेता तथा कार्यकर्ता पुग्दैन थिए । तर यो पटक भने रुपन्देही कांग्रेसमा फरक दृश्य देखिएको थियो । जसले कांग्रेसमा वर्षौदेखि मौलाइरहेको गुटको अन्त्य भएको सन्देश फैलाउँदैछ ।

गुटको अन्त्य भएको सन्देश

भवन शिलान्यासमा उपस्थित भएका कार्यकर्ता

खाँणले कोइरालाको साथ तबसम्म छोडेनन् जबसम्म उनी रुपन्देहीमा रहिरहे । बुटवल उपमहानगरपालिका १२ तामनगरमा गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको शिलान्यास गर्न पुगेका कोइरालासँगै खाँण अघिपछि देखिरहे । जति समय रहे उनकै साथमा रहे ।

लाग्थ्यो कि उनको कोइरालासँग निकटताले केन्द्रमा देखिएको गुट अब सकियो । खाँण कोइरालाको सामीप्यतामा रहँदा अब केन्द्रमा भनेजस्तो जिल्ला र प्रदेशमा कांग्रेसको गुट सकिएको सन्देश गइरहेको देखिन्थ्यो । किनभने उनी बसेसम्म लुम्बिनी प्रदेशभरिका सबै नेतालाई एकै ठाउँमा भेला भएका थिए ।

गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवनको शिलान्यास कार्यक्रममा खाँण समूहका बढी कार्यकर्ता देखिन्थे । कोइरालासँग फोटो खिच्ने र केही क्षण कुराकानी गर्न लालायित देखिन्थे ।

यस पटक भवनको शिलान्यास गर्न पुगेका कोइरालाले लुम्बिनीबाट गुटको अन्त्य र फरक अभ्यास भएको सन्देश दिन खोजे । कार्यकर्ता तथा अन्य सहभागीहरू पनि उत्साहित देखिन्थे ।

‘ व्यक्तिको भन्दा पनि नेपाली कांग्रेसमा लोकतन्त्र जोगाउनेहरूको साथमा रहने योद्धा भनिरहन्थे,’ कोइरालाले फोटो खिच्न आउनेहरूलाई भन्थे,’ हामी एक भयौ भने लोकतन्त्र र पार्टी बलियो हुन्छ । प्रजातान्त्रिक शक्ति बलियो भएमा पार्टी आफैँ बलियो हुन्छ ।‘

शिलान्यासले प्रजातान्त्रिक शक्तिको खोजी

जिल्ला सभापति तथा प्रदेश सभा सदस्यसँग छलफल गर्दै कोइराला

रुपन्देहीमा ३५ घण्टा सम्म बसेका कोइरालाले खासै फुर्सद पाएनन् । यसपटक भवन शिलान्यासका लागि पुगेका उनले पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सांसद, प्रदेश पदाधिकारी र आठै जिल्लाका सभापतिसँग छलफल गरे ।

कोइरालाले सबै सांसद, मुख्य मन्त्री, प्रदेश पदाधिकारी र सभापतिको कुरा सुनिरहे । लुम्बिनी प्रदेशमा पुगेका केन्द्रीयस्तरका नेताले यसअघि प्रदेशभरिका पार्टी सबै पदाधिकारीलाई यसरी भेला पारेका थिएनन् ।

सबै जिल्ला सभापति, प्रदेश पदाधिकारी, प्रदेशसभा सांसद र मुख्य मन्त्रीसँगै यसपटक उनले डिनर गरेका थिए । कोइरालाले स्थानीय तहका प्रमुख र पार्टीका पदाधिकारीको संवादहीन संस्कृति हटाउन समेत पहल गरेका थिए । पार्टीबाट गएर मेयर बन्ने तर पार्टीका पदाधिकारीसँग संवादविहीन रहँदा कार्यकर्ता र पार्टी कमजोर हुने कोइरालाले चिन्ता गरेका थिए ।

सहभागी एक नेताले भने,’ पहिलोपटक हामीलाई एकै ठाउँमा राखेर छलफल गरी सुन्ने र सुनाउने अवसर वरिष्ठ नेता कोइरालाले गर्नुभयो ।‘ कोइरालाले बोलेनन् उनले सहभागी सबै पदाधिकारीको कुरा सुनिरहे ।

दृश्य देख्दा लाग्थ्यो सुन्ने काम कोइरालाको मात्र हो । उनी मौन थिए । उनले अरु बोल्दा आँखा प्रदेश र जिल्लाका सबै नेताहरूप्रति घुमाइरहन्थे । माहोल हेर्दा लाग्थ्यो लुम्बिनी प्रदेशबाटै कांग्रेसको गुट अन्त्य हुँदै थियो । उनको उद्देश्य प्रजातान्त्रिक शक्तिलाई सुन्ने र एकढिक्का बनाउने थियो ।

मौन रहेका शेखर

डा. कोइरालासँग लुम्बिनी प्रदेशका यातायात व्यवसायीहरू छलफलमा

सहभागी नेताले कोइरालालाई सुनाइरहेका थिए,’ सबैका लागि कांग्रेस बनाउनुहोस्,  टुक्रिएका  र फर्किएका अनुहार बनाउनु छैन ।‘  एउटा समूहको नेता जिल्ला आउँदा अर्को समूहका भनेर पार्टीका नेता र कार्यकर्ताको उपस्थिति रहँदैन । यस पटक कोइरालाको कार्यक्रममा समूह भएको आभास देखिंदैन थियो ।

फरक तरिकाले सबै कांग्रेसीलाई यसपटक कोइरालाले ३५ घण्टाको बसाइमा फरक-फरक तरिकाले सुनिरहे । लाग्थ्यो यो पटक उनी बोल्ने नेता भन्दा पनि श्रोता बनेर रुपन्देही पुगेका थिए ।

कोइराला हरेक पटक गृह जिल्ला दौडाहामा भनौं वा अन्तर जिल्लामा पुग्दा पार्टीका पुराना मानिस वा बिरामी भए घर खोज्दै पुग्छन् । अझ मन्दिर देखेमा पुगेर पूजा गरि हाल्छन् । समाजमा प्रभाव पारेका सामाजिक संस्थामै पुग्छन् । सम्बन्धित व्यक्तिसँग भेटघाट गरेर छलफल गर्छन् ।

पार्टीमा लामो समयसम्म योगदान पुर्‍याएकाहरूसँग अन्तरक्रिया गर्ने र उनीहरूको हालखबर सोधपुछ गर्ने उनको आदतै बसिसकेको छ । रुपन्देही पुग्दा कोइरालाले पार्टीका पुराना मानिसलाई खोज्न भुलेनन् । भुपु सैनिक संघका पदाधिकारी कुलबहादुर केसीलाई भेटे । उनले पार्टीमा पुर्‍याएका योगदानका कुराहरू कोइरालाले सुने ।

सबैभन्दा फरक अभ्यास यसपटक उनले रुपन्देही पुग्दा बुद्धिजीवी र प्रजातान्त्रिक चिकित्सकसँग छलफल गर्न सम्म भ्याए । जिल्लाका बुद्धिजीवीले कुनै नेतालाई यसरी बोलाएका थिएनन् । बुद्धिजीवीले पहिलोपटक कोइरालालाई छलफलका लागि निमन्त्रणा गरे । कोइरालाले बुद्धिजीवीहरूको कुरा सुनेकामा उनीहरू उत्साहित देखिन्थे ।

लुम्बिनीमा बुद्धिजीवी उत्साहित

बुद्धिजीवीहरूसँग अन्तक्रिया गर्दै डा. कोइराला

व्यवसायीको अनुनय डा. शेखरसँग

उनले बुद्धिजीवी र चिकित्सकका आवाजहरू सुनिरहे । सहभागी एक बुद्धिजीवीले भने,’ कांग्रेसका नेताले बोलाएर यसरी पहिलोपटक यसरी सुने । सुन्नेमा तपाई पहिलो हो । नेता कोइरालाले यसरी सुन्ने कार्यको थालनी गर्नुमा हामी जस्ता मानिसहरूको आवाजले स्थान पाउँछ भन्ने आभाष भयो ।‘

कोइरालासमक्ष कांग्रेसले बुद्धिजीवीलाई कहिले नसमेटेको गुनासो गरेका थिए । बुद्धिजीवीले भने,’ एउटै व्यक्तिको हातमा पार्टीको नेतृत्त्व हातमा रहँदा पार्टी कमजोर हुन्छ । सांगठनिक क्रियाकलाप चुस्त दुरुस्त समेत हुँदैन । तपाइ जस्तो मानिस आउनु पर्‍यो । पार्टीभित्र हस्तक्षेप गरेर अगाडि आउनुपर्‍यो ।‘

डा. कोइरालाले छलफलमा सहभागीहरूको सुझाव टिपे । सुझाव लिएपछि उनले नेपाली कांग्रेसको आगामी बाटो, निर्वाचनमा समानुपातिक प्रणाली,भ्रातृ संगठनको पुनर्जागरण र मुलुकको आर्थिक अवस्था विषयमा सरोकार निकायसँग सुझाव लिएर पार्टी, सांसद र सरकारलाई दबाब दिने धारणा राखेका थिए ।

जिल्लामा पुगेदेखि व्यवसायीहरूको दुःख र व्यथासमेत सुन्न आतुर थिए । मुलुकको अर्थतन्त्र धान्नमा व्यवसायीको अहम भूमिका रहन्छ भन्ने उनले सुनेका थिए । उनको खोजी र नजर व्यवसायीमा पर्‍यो ।

डा. कोइरालाको अगाडि व्यवसायीले दिनप्रतिदिन कांग्रेस कमजोर हुँदै गइरहेकोमा चिन्ता गरेका थिए । ‘लोकतन्त्र धर्मरायो, गरिखाने व्यवसायी पलायन हुँदै गए र व्यवसायीलाई अप्ठ्यारो भयो,’ व्यवसायीले भनेका थिए ।

गिरिजाप्रसा कोइराला स्मृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै डा. कोइराला


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x