दल

सांसदहरू लोकतन्त्रका आत्मा हुन् : उपाध्यक्ष सापकोटा

इकागज |
चैत २४, २०८० शनिबार १६:२५ बजे

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले अहिले सिंगो राज्य रुपान्तरणका लागि आन्दोलनको रुपान्तरण र शुद्धीकरण जरुरी रहेको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित तिलक शर्मा हिमालद्वारा लिखित संस्करण–सङ्ग्रह ‘बन्द पर्खाल’ को सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उपाध्यक्ष सापकोटाले सो कुरा बताएका हुन् । सापकोटाले रुपान्तरणको प्रक्रियामा जाँदा विचारलाई अघि बढाउनुपर्ने भन्दै अहिलेको मुख्य कार्यभार भनेको वैचारिक, राजनीतिक, सांगठनिक र सांस्कृतिक पुनर्गठन रहेको उल्लेख गरे ।


त्यस्तै उनले विचारको शून्यताले गर्दा देश पूरै अराजकतातिर गइरहेको भन्दै सुशासन र लोकतन्त्रको शक्तिशाली सन्देश दिनुपर्ने संघीय सांसदका शब्द चयन र वाक्यप्रति असन्तुष्टि व्यक्त गरे । उपाध्यक्ष सापकोटाले हरेक देशका सांसदहरू नै लोकतन्त्रका आत्मा भएको धारणा राखे । उनले विचारअनुसारकै राजनीतिक दिशा हुने भएकाले जनताको विश्वास जित्दै हिजो असाधारण युद्धमा सामेल भएकाहरू एकजुट हुन सके कसैले रोक्न नसक्ने दाबी गरे ।

उनले एकताबद्ध भएर समाजवादको विचारधारा तयार पार्न आजैदेखि लागिपर्नु पर्नेमा जोड दिए ।

उपाध्यक्ष सापकोटाले नेपालको कृषि, जलविद्युत् र प्रविधिमा आधुनिकीकरण गरी उद्योग धन्दाको विकास गर्न सके मुलुकले फड्को मार्ने उल्लेख गरे । त्यस्तै उनले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशील अवस्थामा रहेकाले त्यही अनुसार तयारी गर्नुपर्ने धारणा राखे ।


Author

थप समाचार
x