दल

आफ्नै पार्टी नेतृत्वको सरकार हुँदा पनि कार्यकर्ताहरूबाट सहयोग उठाएर जग्गा किन्दै नुवाकोट माओवादी

इकागज |
जेठ ३१, २०८१ बिहीबार ९:४१ बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्र नुवाकोटले भवन निर्माणका लागि जग्गा किन्ने भएको छ । पार्टीका नेता र कार्यकर्ताहरूबाट सहयोग उठाएर भवन निर्माणका लागि जग्गा किन्ने भएको हो ।

जेठ २५ गते जिल्ला संयोजक पुष्प लामिछाने र जिल्ला इन्चार्ज हिरानाथ खतिवडाको विशेष उपस्थितमा नुवाकोटमा कार्यरत बागमती प्रदेश समिति सदस्य र पालिका पदाधिकारीहरूको बैठकले भवन निर्माणका लागि सहयोग उठाएर जग्गा किन्ने निर्णय गरेको हो ।


सदरमुकाम विदुरमा पार्टी कार्यालय भवन बनाउन देश तथा विदेशमा कार्यरत नेता कार्यकर्ताहरूबाट असार १५ गतेसम्म आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको परिपत्रमा उल्लेख छ । सहयोगका लागि पार्टीका समर्थक, शुभचिन्तक, व्यापारी-व्यवसायी र पेशाकर्मीहरूलाई आव्हान पनि गरेको छ ।

त्यस्तै प्रदेश समिति सदस्यले ५० हजार, जिल्ला समन्वय समितिले २५ हजार, नगर तथा गाउँपालिका सदस्यले ५ हजार, वडा समिति सदस्यले २ हजार, पार्टी संगठित सदस्यले १ हजार र पार्टी सदस्यले सके जति हाल्नुपर्ने निर्णय गरेको छ । 

पार्टीबाट राजनीतिक नियुक्ति लिएकाहरूले न्युनतम एक महिनाको तलब, पार्टीबाट जनप्रतिनिधि जितेकाहरूले न्युनतम एक महिनाको तलब, पेशाकर्मीबाट एक महिनाको तलब, व्यापारी-व्यवसायीले सकेको अधिकतम हाल्नुपर्ने परिपत्रमा लेखिएको छ । सहयोग गर्न चाहनेले {०२१३२०१८७९६८००१७ nepal communist party (MAOBADI KEND)} कृषि विकास बैंकको खातामा जम्मा गर्न सक्ने नुवाकोट माओवादीले जनाएको छ ।

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । नुवाकोट-१ बाट जितेका हितबहादुर तामाङ संघीय सरकारको पर्यटन मन्त्री छन् भने नुवाकोटबाट समानुपातिक सांसद तथा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी छिन् । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री र आफ्नै जिल्लाका नेता मन्त्री भएको बेलामा पनि राज्यको ढुकुटी दुरूपयोग नगरी कार्यकर्ताहरूबाट सहयोग उठाएर जग्गा किन्ने निर्णयले सकरात्मक सन्देश दिएको छ ।


Author

थप समाचार
x