दल

एमाले विवाद मिल्ला त आज ?

आज पनि कार्यदल बैठक बस्दै

इकागज |
असार २७, २०७८ आइतबार ६:५८ बजे

काठमाडौँ : नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानका लागि गठित कार्यदलको बैठक बस्दैछ । आजको बैठकमा नेताहरूले विवाद समाधानको घोषणा हुने बताएका छन् । सिंहदरबारमा हिजो बसेको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले  आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए । 

विष्टले दलभित्रको समस्या सामाधन गर्ने विन्दुमा आफूहरू आइपुगेको जनाउँदै सहमतिलाई औपचारिकता दिन मात्र बाँकी रहेको बताए । “हामी भोलि(आइतबार) पार्टी एकताको सुखद् समाचार सुन्ने सफलता प्राप्त गर्ने छौँ । त्यो विन्दुसम्म पु¥याउनका लागि हामीले धेरै हदसम्म सहमति गरेका छौँ,” हिजोको बैठकपछि भनेका थिए, “अब सहमतिलाई औपचारिकता दिन मात्र बाँकी छ । भोलि एकताको सार्थक निष्कर्षमा पुग्दैछौँ ।”


एमालेका उपाध्यक्ष भीम रावलले दलमा देखिएको समस्या समाधानको अन्तिम विन्दुमा पुगेको र चाँडै सहमतिको निष्कर्षमा पुग्ने बताएका थिए । 
अन्य कार्यदलका सदस्यहरू तत्काल मिल्ने बताइरहे पनि वरिष्ठ नेता नेपाल भने शक्ति बाँडफाडमा कुरा नमिल्दासम्म सहमति गर्ने पक्षमा देखिन्नन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर के हुन्छ भन्ने प्रश्न गरेका छन् । दाहालले भेटेर र देउवाले टेलिफोनमा यस्तो जिज्ञासा राखेका हुन् । 

संविधानको धारा ७६ को उपधारा ५ अनुरुप कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो हस्ताक्षर फिर्ता गराउन अनेकन प्रयास गरिरहेका छन् । तर नेपाल भने सर्वोच्चले फैसला नगर्दासम्म रोकिने पक्षमा देखिएका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फौसला सुनाउने मिति सोमबारका लागि तोकेको छ । 

बैठकमा एमाले नेता सुवास नेम्वाङ, विष्णुप्रसाद पौडेल, घनश्याम भुसाल, प्रदीपकुमार ज्ञवाली, सुरेन्द्रप्रसाद पाण्डेलगायत नेता सहभागी हुनुहुन्थ्यो । एमालेभित्र देखिएको विवाद समाधान गर्न लगातार कार्यदलको बैठक बसिरहेको छ । 
 


Author

थप समाचार
x