दल

अढाई मिनेटमै स्थगित भयाे मधेस प्रदेशसभा बैठक

सुभाष कर्ण |
चैत १६, २०७८ बुधबार १५:३३ बजे

जनकपुरधाम – गणपूरक संख्या उपस्थिति नहुँदा अढाई मिनेटमै मधेश प्रदेश सभाको बैठक स्थगित भएको छ ।  बुधवार बसेको प्रदेश सभाको बैठकमा जम्मा १४ जना प्रदेश सभा सदस्य मात्र उपस्थित हुँदा गणपुरक संख्या नपुगेको भन्दै सभामुख सरोजकुमार यादवले बैठक स्थगित गरेका हुन । 

बैठक सुरु हुनासाथ लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले गणपूरक संख्या उपस्थित नभएकाले बैठकलाई स्थगित गर्न सभामुखसँग माग गरेका थिए । 


त्यस्तै, नेकपा एमालेका सांसद किशोरी साह ‘कमल’ले पनि गणपुरक संख्या नपुगेको र विभिन्न विधेयक उपर मन्त्रीहरुलाई जवाफ दिनुपर्ने भएको हुनाले बैठक स्थगित गर्न आग्रह गरेका थिए । 

उनले भने, 'सभाको बैठकमा गणपुरक छैन, विधेयक उपर र विभिन्न उठ्ने विषयमा जवाफ दिने मन्त्री आफ्ना राजनीतिक पार्टी र निजी काममा व्यस्त भएको कारण जवाफ दिनेको नै अनुपस्थितिले बैठकको के औचित्य हो, स्थगित गरौं।'

मधेश प्रदेश सभाको गणपुरक संख्या २६ रहेकोमा मात्र १४ जनाको उपस्थिति र सदस्यहरुले स्थगित गर्न आग्रह गरेपछि आजको बैठक स्थगित गर्नु परेको सभामुख यादवले बताए । 

आजकको बैठकमा प्रमाणीकरण भएको विधेयक पत्र पढेर सभामुख पढेर सुनाउने, प्रदेश प्रहरी गठन एवं संचालन सम्बन्धी संकल्प प्रस्तावमाथि छलफल, त्यसलाई पारित गरियोस प्रस्ताव र उद्योग पर्यटन तथा वन मन्त्री शत्रुधन महतोले प्रदेश पर्यटन प्रवर्द्धन तथा व्यवस्थापन सम्बन्धमा बनेको विधेयकमा विचार गरियोस प्रस्ताव पेस गर्नु कार्यसूची रहेको थियो ।


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x