दल

स्थानीय तह निर्वाचन : आजदेखि उम्मेदवारी दर्ता

इकागज |
बैशाख ११, २०७९ आइतबार ६:२० बजे

काठमाडौँ – स्थानीय तहको निर्वाचनका लागि आज (आइतबार)बाट उम्मेदवारको मनोनयन दर्ता सुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार उम्मेदवारको मनोनयन दर्ताका लागि दुई दिनको समय तोकिएको छ । आइतबार र सोमबार दिउँसोसम्म मनोनयनको समय तोकिएको आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिए । 

उनका अनुसार स्थानीय तहको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यमा उम्मेदवारी दिन चाहनेले आइतबार र सोमबार सम्बन्धित पालिकाको निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराउन सक्नेछन् ।


मनोनयन दर्ता गर्न सम्बन्धित पालिकामा मतदाता नामावली हुनुपर्छ । सम्बन्धित पालिकाका मतदातामध्येबाट एक जना प्रस्ताव र एक जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ ।

सोमबार बेलुका मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने आयोगको कार्यतालिका छ । यस्तै, वैशाख १३ मा उम्मेदवारको विरोधमा उजुरी दिने समय तोकिएको छ । वैशाख १६ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदैछ ।
 


Author

थप समाचार
x