दल

स्थानीय तह निर्वाचन

पोखरामा सुकुम्बासीको सर्त : ‘पहिले लालपुर्जा, त्यसपछि भोट’

धनबहादुर गुरुङ |
बैशाख २०, २०७९ मंगलबार ११:११ बजे

पोखरा – पोखरामा करिब ३५ हजार सुकुम्बासी मतदाताका छन् । जसमध्ये पोखरा १४ मा करिब ४ हजार छन् । पोखरा १४ का सुकुमबासी मतदाताले ‘पहिले लालपुर्जा, त्यपछि भोट’ सम्झौतापत्रमा हस्ताक्षर गरेपछि मात्रै मतदान गर्ने सर्त अघि सारेका छन् ।

पोखरा वडा १४ मा ८ हजार १६६ मतदाता छन् । जहाँ ११ सुकुमबासी टोल छन् । ती टोलहरूमा करिब ४ हजार हाराहारीमा सुकुमबासी मतदाता रहेको अध्यक्ष विकले बताए । पोखरा १४ को प्रगति टोल संस्था रातोडाँडा, विजयपुर बस्ती, सेती दोभान बस्ती, शुभकामना टोल, सैनिक तारा टोल, सेती खोला, गैरे गाउँ, तल्लो शान्ति टोल, उपल्लो शान्ति टोल, तल्लो काजीपोखरी टोल र प्रगति टोल विकास संस्था काजीपोखरी एक साथ यो सर्तमा लागेका हुन् । आफूहरू पटक–पटक चुनावका समयमा आश्वासन जालोमा फसेका कारण यो पटक मेयर, उपमेयर, वडाध्यक्षसहित सदस्यहरूले हस्ताक्षरसहित सम्झौता गरे मात्र भोट हाल्ने सुकुमबासी संघका अध्यक्ष खड्कबहादुर विश्वकर्माले बताए । ‘हामीले यो पार्टी त्यो पार्टी केही भन्दैनौं, सबैप्रति हाम्रो सम्मान छ,’ उनले भने, ‘तर घरदैलोमा आउने सबै पार्टीका मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य सबैलाई सर्तमा हस्ताक्षर गराउने हामी ११ वटै टोलका हामी सुकुमबासीहरूको योजना छ ।’


आफूहरूलाई राजनीतिक दलको ‘भोट बैंक’ रूपमा मात्र प्रयोग गरेका कारण सर्त अघि सारेको सुकुमबासी संघका अध्यक्ष खड्कबहादुर विश्वकर्माले जानकारी दिए । सुकुमबासीको हकहितका लागि काम गर्ने भन्दै खोलिएको संस्था आधिकारिक नभए पनि निर्वाचनका समयमा सर्त अघि सार्ने गरी अघि बढेको उनले बताए । निर्वाचनलगत्तै संघ दर्ता प्रक्रियामा जाने बताएका उनले यो अभियानमा सबैको साथ रहेको जनाए । ‘चुनावका समयमा राजनीतिक दलका व्यत्तिहरूले सधैं भोट, पैसा र मासु भातमा दाजेर खेलबाँड गरिरहेको छ,’ उनले भने, ‘अहिलेसम्म धेरै पुस्तालाई सुकुमबासीको नाममा अलपत्र बनाएको छ ।’ यो पटक लालपुर्जा प्राप्तिको गतिलो प्रमाणका लागि सर्त अघि सारिएको उनको भनाइ छ ।

पोखरा १४ बाट सुरु गरिएको सर्तमा हस्ताक्षरको अभियान निर्वाचनसम्म कास्कीका सबै वडासहित नेपालभर पुर्‍याउने संघको योजना रहेको उनले सुनाए । कास्की जिल्लाभर २ लाख ८१ हजार ८ सय ३३ मतदाता छन् । तीमध्ये ५७ हजार हजार २२ नयाँ मतदाता हुन् । पोखरा महानगरमा मात्र २ लाख ७ हजार ७ सय १२ मतदाता छन् । जसमध्ये पोखरा महानगरभर करिब ३५ हजार सुकुमबासी मतदाता रहेको संघको अनुमान छ । पोखरा महानगरको अधिकांश वडामा सुकुम्बासी टोल छ । यसकारण पनि सबै टोलहरू एकीकृत हुनु परेको उनले बताए ।

निर्वाचनकै समयमा हस्ताक्षर गरी एकप्रति आफूहरूले राखेमा पछि आफ्नो हकहितका लागि सहज हुने अध्यक्ष विकले बताए । ‘वैशाख ३० गते हुने निर्वाचनमा सबै नेताहरूले यो सम्झौतापत्रमा सही गर्नुपर्छ,’ उनले भने, ‘यो सम्झौतापत्र भयो भने पछि हाम्रो अधिकारका लागि तालाबन्दी, नारा जुलुस गर्न सक्ने आँट आउँछ, अब उधारो काम हुँदैन ।’

राष्ट्रिय भूमि आयोग कास्की अध्यक्ष गंगाप्रसाद पोखरेलले सुकुमबासी मतदातालाई भोट बैंकको रुपमा सम्झनु गलत रहेको धारणा राखे । निर्वाचन समयमा कुनै पनि पार्टीले लालपुर्जा अथवा कुनै आश्वासन दिएर भोट बटुल्न खोज्न नहुने उनको भनाइ थियो । ‘जनताले लालपुर्जा पाउने कुराले निर्वाचनले कुनै सम्बन्ध राख्दैन, लालपुर्जा पाउने जनताको नैसर्गिक अधिकार हो,’ उनले भने, ‘यो संवैधानिक अधिकारका कुरामा भोट दिने वा नदिने भन्ने प्रश्नै उठ्दैन ।’ जनताले भोट नदिन पनि सक्छन् तर लालपुर्जा पाउनुपर्ने उनको भनाइ थियो ।


Author

थप समाचार
x