राजनीति

अर्थमन्त्री शर्मालाई बर्खास्त गरी कारबाही गर्न विवेकशील साझाको माग

इकागज |
असार २१, २०७९ मंगलबार १३:५५ बजे

काठमाडौं– विवेकशील साझा पार्टीले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गरी कारबाही गर्न माग गरेको छ । साझाको युवा संगठनले मंगलबार बिहान एक विज्ञप्ति जारी गर्दै अर्थमन्त्री शर्मालाई बर्खास्त गरी फौजदारी अभियोगमा कारबाही गर्ने माग गरेको हो । 

संगठनका संयोजक सरोज गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आर्थिक वर्ष २०७९/८० को बजेट संसदमा पेश हुने अघिल्लो राति (जेठ १४ गते) अर्थमन्त्रालयमा अर्थमन्त्रीकै स्वीकृतिमा दुई जना अनाधिकृत व्यक्तिहरूले आर्थिक विधेयकमा करको दायरा थपघट गरेको विषय गम्भीर राष्ट्रद्रोह हो । हामी यथाशिघ्र उक्त दिनको सिसिटिभी फुटेज सार्वजनिक गर्न, आरोपित अर्थमन्त्रीलाई बर्खास्त गर्न र उनीमाथि तत्काल कानुनी कारबाही अगाडि बढाउन जोडदार माग गर्दछौँ ।’


बजेटजस्तो संवेशनशील सार्वजनिक दस्तावेजमाथि सरकारको मन्त्रीको नेतृत्वमा किर्ते हुनु, विदेशी नागरिक सहित व्यापारिक स्वार्थ जोडिएका अनाधिकृत व्यक्तिहरूलाई गोप्य दस्तावेजमा मध्यराति केरमेट हुनु राष्ट्रको लज्जाको विषय भएको संगठनको भनाइ छ । 

अर्थमन्त्रालयले कम्तीमा तीन महिनासम्म सिसिटिभी फुटेज राख्नुपर्नेमा १३ दिनमै हटाएकोप्रति संगठनले विरोध गरेको छ । फुटेज डिलिट गरेर अर्थमन्त्री शर्माले प्रमाण नष्ट गर्ने काम गरेको संगठनको आरोप छ ।

‘संदिग्ध अर्थमन्त्रीमाथि राष्ट्रद्रोह फौजदारी अभियोग लगाएर अनुसन्धान हुनुपर्ने मुद्दामा संसदीय छानबिन पनि हुन नसक्नु र अनुसन्धानमा सहायक हुने सिसिटिभी फुटेज सार्वजनिक तथा सरकारी निकायले तीन महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्ने सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ को व्यवस्था विपरित अर्थमन्त्रालयले १३ दिनमै मेटिएको प्रतिक्रिया दिनुले यो घटनामा सत्ता गठबन्धन र प्रतिपक्षी दलको समेत मिलेमतो रहेको पुष्टि हुन्छ ।’ विज्ञप्तिमा उल्लेख छ । 

संगठनले अर्थमन्त्रीलगायतका व्यक्तिहरूमाथि तत्काल छानविन हुनुपर्ने र यसका लागि उनीहरुले राजीनामा दिनुपर्ने पनि माग राखेको छ । 


Author

थप समाचार
x