राजनीति

अध्यक्ष नेपालले लिउसँग भेट गर्दै भने : कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न दिदैनाैँ

इकागज |
असार २८, २०७९ मंगलबार १८:२७ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।

मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौँको एक होटलमा भेट भएको हो । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए । उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशलाई पनि नेपाली भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेको जिकिर गरे ।


अध्यक्ष नेपालले नेपालको कम्युनिष्ट र चीनको कम्युनिष्ट जनवर्गीय संगठनका बारेमा पनि कुरा भएको उल्लेख गरे । उनले चीनसँग नेपालको कुनै समस्या नभएको कुरा राखेको भन्दै अझै चीन र नेपालबीचको सम्बन्धलाई सुमधुर बनाएर लैजाने कुरा राखेको बताए । अध्यक्ष नेपालले चिनियाँ पक्षले नेपाल र चीन बीचको सम्बन्ध सुमधुर रहेको कुराको चर्चा गर्दै विभिन्‍न पार्टीहरूसँगको सम्बन्धलाई बलियो बनाउन चाहेको कुरा राखेको उल्लेख गरे । लिउले आफू विदेश विभाग प्रमुख भएपछि पहिलो प्राथमिकता नेपाललाई दिएको कुरा राखेको भन्दै अध्यक्ष नेपालले द्विपक्ष बीचको भेटवार्ता फलदायी भएको बताए ।

अध्यक्ष नेपालले दुई देशबीचको सम्बन्धलाई बलियो बनाएर लैजाने कुरामा दुवै पक्षले कुरा राखेको उल्लेख गर्दै नेपालका कम्युनिष्टहरु एकतावद्ध भएर अघि बढे राम्रो रहेको कुरा प्रमुख लिउले राखेको बताए ।

गत आइतबार चारदिने नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख लिउले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरिसकेका छन् । विदेश विभाग प्रमुख लिउ बुधबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने र भोलि बेलुका नै स्वदेश फर्किने कार्यतालिका छ । 


Author

थप समाचार
x