राजनीति

विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई स्थानीय तहको चेतावनी

इकागज |
चैत ३०, २०७७ सोमबार ११:१६ बजे

काठमाडौँ : स्थानीय तहका जनप्रतिनिधिले कोभिड-१९ को कारण देखाएर देशभरका विद्यालय बन्द नगर्न शिक्षा मन्त्रालयलाई चेतावनी दिएका छन् । सोमबार शिक्षा मन्त्रालयमा भएको सरोकारवालाहरुको बैठकमा स्थानीय तहका जनप्रतिनिधिले हचुवाका भरमा देशभरका विद्यालय बन्द गर्ने र पटक पटक स्थानीय तहको अधिकार मिच्‍ने काम नगर्न मन्त्रालयलाई चेतावनी दिएका हुन् ।

नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय तहको भएकाले हस्तक्षेप नगर्न आग्रह गरे । यसअघि जस्तो प्रेस विज्ञप्ती निकालेर विद्यालय बन्द गराउने निर्णयको अवज्ञा गर्ने उनले चेतावनी दिए ।


‘विद्यालय सञ्‍चालनको सम्पूर्ण अधिकार स्थानीय तहलाई छ । जुन हाम्रो क्षेत्राधिकारमा पर्छ । मन्त्रालयले विद्यालय बन्द गर्ने अधिकार संविधानको कुन धारामा ?’ सोमबार शिक्षा मन्त्रालयमा आयोजित सरोकारवालाहरूको बैठकमा अध्यक्ष ब्यान्जुले प्रश्‍न गर्दै भने, ‘यस्ता हचुवाको निर्णय अब लागु हुन सक्दैन् । विद्यालय खोल्ने वा बन्द गर्ने निर्णय जनप्रतिनिधिले गर्छन ।’

निजी विद्यालय सञ्‍चालकहरूको संस्था प्याब्सनले पनि विद्यालय बन्द नगर्न आग्रह गरेको थियो । कोभिड १९ संक्रमणको क्षेत्र हेरेर स्थानीय तहले विद्यालय बन्द गर्न सक्ने अधिकार सुरक्षित रहेकाले शिक्षा मन्त्रालयले एकैपटक सबै विद्यालय बन्द गर्न नहुने सुझाव सरोकारवालाई दिएको बैठकमा सहभागी राष्ट्रिय अभिभावक महासंघका पूर्वअध्यक्ष सुप्रभात भण्डारीले बताए ।

‘यसअघि मन्त्रालयले एकपटक पनि परामर्श नगरी विद्यालय बन्द गरेको थियो । केही दिनअघि प्रदूषण बढ्दा पनि हचुवाको भरमा निर्णय भएको थियो । मन्त्रालयका त्यस्ता निर्णयप्रति आजको बैठकमा हामीले ध्यानाकर्षण गरायौँ’ उनले इकागजसँग टेलिफोनमा भने, ‘तत्काल विद्यालय बन्द नगर्न भनेका छौँ । यसमा शिक्षा मन्त्रालयका अधिकारी सकारात्मक देखिएका छन् ।’

सरोकारवालाहरूको सुझावलाई मध्यनजर गरेर विद्यालय बन्द गर्ने वा नगर्नेबारे शिक्षा मन्त्रालयले निर्णय गर्ने प्रवक्ता दीपक शर्माले बताए । यसका लागि अन्य मन्त्रालयसँग पनि परामर्श गरिने उनको भनाइ छ । ‘धेरैको सुझाव विद्यालय बन्द नगरौँ भन्‍नेछ । अब त्यही अनुसार अगाडि बढ्छौँ’ उनले भने । 


Author

थप समाचार
x