राजनीति

विप्लवसहितका चार दलको बन्द

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, दाङमा बिहानै टिपर जलाइयो

इकागज |
भदौ ७, २०७९ मंगलबार ६:५५ बजे

काठमाडौँ -  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा उनीहरूले आज बन्दको आह्वान गरेका हुन् । 

बन्दको प्रभाव काठमाडौँमा उपत्यकामा सामान्य परेको छ । उपत्यकाबाहिर भने आंशिक प्रभाव परेको छ । धेरैजसो ठाउँमा लामो दुरीका सवारी साधन चलेका छैनन् । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् भने दाङमा एक टिपरमा आगजनी भएको छ । 


कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

अत्तरियामा टिफिन बक्स जस्तो बस्तु कपडामा बेरेको अवस्थामा र हरैयामा करिब ५० मिटर लामो तारसहित प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए। 

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए। उनले उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको जानकारी दिए । 

अहिले ती स्थानमा प्रहरीले सुरक्षा दिइरहेको ईलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख डिएसपी रबिन्द्रराज पाण्डेयले बताए ।

त्यस्तै दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिपरमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन् । आगजनीका कारण टिप्परको अघिल्लो भाग जलेर नष्ट भएको छ । 


Author

थप समाचार
x