राजनीति

माओवादी ध्रुवीकरणः ‘कार्यकर्तालाई मन पर्ने, नेतालाई मन नपर्ने’

किराँती भन्छन्, ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने जोखिम बढेपछि पहल थालेँ

विनोद देवकोटा |
बैशाख ३, २०७८ शुक्रबार १७:५३ बजे

काठमाडौंः नेकपा एमाले र माओवादी केन्द्र एकीकरण नसकिँदै अलग भए । ‘सत्ता र स्वार्थ’ को गठजोड लामो समय टिकेन । चिरा–चिरामा विभाजित नेपाली कम्युनिष्ट पार्टीका लागि ‘सत्ता र स्वार्थ’को गठजोड नै सही एउटा सन्देश अवस्थ थियो एमाले–माओवादी एकता । तर, विचार, सिद्धान्तभन्दा सत्ता र स्वार्थ हाबी भएपछि त्यो टिक्ने कुरै थिएन । टुक्रियो । 

नेपालमा कति वटा कम्युनिष्ट पार्टी छन् ? २०६२/०६३ को आन्दोलन र परिवर्तनपछि मूलधारमा उदाएको माओवादी मात्रै कति चिरामा विभाजित छ ? ‘१० वर्षे जनयुद्ध’ का सारथि अहिले कहाँ–कहाँ छन् ? डा. बाबुराम भट्टराई समाजवादी भइसके । मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’, गोपाल किराँती, कर्णजित बूढा आदिका आ–आफ्नै कम्युनिष्ट पार्टी छन् । यीबाहेक माओवादी राजनीतिबाट उदाएका केही नेता अहिले नेकपा एमालेमा पनि छन् । 


छिन्नभिन्न भएको माओवादी आन्दोलन र यसबाट उदाएका नेताहरूलाई राजनीतिक रूपमा एक ठाउँमा ल्याउन गोपाल किराँतीले पहल थालेका छन् । उनले माओवादी धरातलबाट उदाएर अहिले छिन्नभिन्न अवस्थामा रहेका नेताहरूलाई ध्रुवीकरण गर्न भन्दै नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीमा रहेका डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्दलाई गत चैत पहिलो साता पत्राचार गरेका थिए । 

नेपाललाई ‘इण्डो–अमेरिकी रणनीति र त्यसको दलाल ओलीतन्त्रको कोपभाजन हुनबाट जोगाउन’ पहलकदमी लिनैपर्ने स्थिति आएकोले माओवादी ध्रुवीकरण आवश्यक रहेको दाबी पत्रमा गरिएको छ । ‘सबैले भनेको समाजवाद वस्तुतः एउटै राजनीतिक कार्यक्रम हो भन्ने हामीलाई लाग्छ,’ माओवादी/पूर्वमाओवादी नेताहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘अतः सम्बन्धित राजनीतिक कार्यक्रमका आधारमा माओवादी तथा पूर्वमाओवादी र सम्पूर्ण कम्युनिष्ट पार्टीबीच ठोस तथा यथाशीघ्र पहलका लागि अनुरोध छ ।’

किराँतीको पत्रको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मात्रै जवाफ दिएका छन् । उनले एकपटक किराँतीसँग भेटवार्ता समेत गरिसके । ‘पत्र पठाएपछि दाहालले बोलाउनुभयो,’ किराँतीले भने, ‘उहाँसँग यही विषयमा छलफलसमेत भयो । अरुले कुनै प्रतिक्रिया दिनुभएको छैन । पहिले मातृकाजीसँग भेट भयो । पछि दाहालसँगै पनि भेटियो ।’ 

यस विषयमा माओवादी केन्द्रका अध्यक्ष दाहालले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । ‘ठोस सहमति त केही भएको छैन्,’ उनले भने, ‘मैले आफ्ना कुरा राखें । जनभावना यो छ भनेर सुनाएँ । दाहाल सकारात्मक हुनुभयो ।’ 

वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल पहल सकारात्मक भए पनि तत्काल ध्रुवीकरणको सम्भावना नरहेको बताउँछन् । कित्ता-कित्तामा विभाजित माओवादी आन्दोलन सबै कुरा बिर्सिएर हाम्रो इच्छाले तुरुन्तै एकता नहुने उनको भनाइ छ । ‘उहाँको मनसाय त राम्रै होला र नराम्रो मनसायबाट सुरु गरिएको भन्न त मिल्दैन,’ उनले भने, ‘तर, यसरी माओवादी आन्दोलन ध्रुवीकरण हुँदैन । किनकि आन्दोलन विभिन्न कित्तामा विभाजित भएको छ । त्यसकारण हाम्रो इच्छाले तुरुन्तै सबै कुरा बिर्सिएर धुव्रीकरण हुने देखिदैन ।’

माओवादी ध्रुवीकरणको आवश्यकता भने रहेको उनको भनाइ छ । ‘ध्रुवीकरणको आवश्यकता त हो,’ उनले भने, ‘सकेसम्म एउटै पार्टी बनेको भए धेरै काम हुन्थ्यो । तर, अब एउटा आह्वान गर्दैमा हुने चाहिँ लाग्दैन । उहाँले गर्नु भएको छ । केही जवाफ फर्काएको छैन ।’

चन्द नेतृत्वको नेकपाले पनि किराँतीले पठाएको पत्र प्राप्त भएको जनाएको छ । चन्द नेकपाका केन्द्रीय सदस्य उदयबहादुर चलाउने कार्यालयमा पत्र प्राप्त भएको बताए । तर, त्यसबारे थप केही प्रक्रिया भने अघि नबढेको उनको भनाइ छ । ‘कार्यालयमा पत्र आएको जानकारी छ । त्यसबाहेक कुनै प्रक्रिया अघि बढेको छैन,’ उनले भने ।  

यता किराँतीले ‘जनयुद्ध’ लाई अपराधीकरण गर्ने जोखिम बढेकाले प्रयास जारी राखेका धु्रवीकरणको पहल गरेको बताए । माआवादी आन्दोलनलाई समर्थन गर्ने कार्यकर्ताको चाहना पनि त्यही रहेको उनले सुनाए । ‘जनता/कार्यकर्तालाई मन पर्ने, नेतालाई मन नपर्ने के हो त भन्दा कम्युनिष्टहरू धु्रवीकरण,’ उनले भने, ‘प्रयास गरिरहेका छौं । हामी बाध्य छौं । जनयुद्धको प्रसाशनिक मुद्दाहरू, जनयुद्धलाई अपराधीकरण गर्ने जोखिम छ । जोड्नुपर्छ भनेर मंसीरदेखि लागिराखेका छौं ।’ उनले यसलाई थप छलफल गर्दै लैजाने योजना रहेको बताए ।

यो पनि

किरातीले दाहाल, भट्टराई, वैद्य र चन्दलाई पूर्वमाओवादी मिल्न आग्रह गर्दै लेखे पत्र


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x